काठमाडौँ, ५ असार । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण फलदायी र सफल रहेको जनाएको छ ।
राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव सेवा लम्सालले राष्ट्रपतिले स्विट्जरल्यान्डमा नेपाल स्विट्जरल्यान्डबीच द्विपक्षीय सहयोग, उच्चस्तरीय भ्रमणको आदान प्रदान,सांस्कृतिक एवं जनस्तरको सम्बन्ध विस्तार लगायतका द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा छलफल भएको बताइन् ।
त्यस क्रममा विशेषगरी कृषि, ऊर्जा, पर्यटन विकासका क्षेत्र, लगानी तथा जलवायु परिवर्तनका नकारात्मक असरविरुद्ध लड्ने छलफल केन्द्रित भएको परराष्ट्र सचिव लम्सालले जानकारी दिइन् । छलफलमा राष्ट्रपति पौडेले, नेपालको सामाजिक आर्थिक विकास, सङ्घीयता कार्यान्वयन र शान्ति प्रक्रियामा स्विट्जरल्यान्डले गरेको सहयोगको त्यहाँको सरकारलाई धन्यवाद दिएका थिए । त्यसैगरी स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सम्मृद्धितर्फ अघि बढेकोमा सन्तोष व्यक्त गरेका थिए । साथै उनले दुई देशबीचको सम्बन्धका चासो राखेका थिए । त्यसपछि राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।