बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

काठमाडौँ, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिनुभएको छ ।

जनकपुरमा राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास (१०४) का सम्बन्धमा मधेश प्रदेशका सुरक्षा निकायका प्रतिनिधिहरूका निम्ति आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘मुख्य विषय हराएका बालबालिकाको खोजी गर्नु नै हो । थुप्रै बालबालिका अहिले पनि हराइरहेका छन् । ती बालबालिकाको अवस्था के छ ?’,  ‘त्यसैले ती बालबालिका कहाँ कुन अवस्थामा छन् ? तीनको पनि खोजी गर्नुस् । बालबालिकाको खोजतलासको कार्य अझै बढाउनुस् । बालबालिकाको खोजी नै हाम्रो पहिलो प्राथमिकता हो ।’ 

अहिलेको आँकडाअनुसार सबैभन्दा मधेश प्रदेशमै बालबालिकाहरू हराउने गरेको भन्दै उहाँले ६ हजार बालबालिका हराएकामध्ये ५ हजार २ सय जना मात्रै फेला परेको बताउनुभयो । पछिल्लो ११ महिनामा मात्रै १३२८ बालबालिका हराएको र त्यसमध्ये ९९३ जना मात्रै फेला परेको उहाँले बताउनुभयो । मधेस प्रदेश बढी संवेदनशील क्षेत्र भएकोले त्यसमा बढी ध्यान दिन मन्त्री चौधरीले निर्देशन दिनुभयो । विगतमा हराएका बालबालिकाहरूमध्ये एभरेजमा ६०/७० प्रतिशत भेटिएको देखिने बताउँदै उहाँले यी घटनालाई कम गर्नका निम्ति अझै धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री चौधरीले समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । ‘यी घटनाहरू भई रहनुमा कारण के हो त ? परिवार हो कि ? समाज हो कि ? खानपान वा अन्य कारण के हो ? परिवारभित्रको कलह वा अन्य कारण हो कि ? यी कुराहरू पनि खोज्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘७५३ पालिका र सात वटै प्रदेशमा यी कामहरू गर्न आवश्यक छ । त्यसका निम्ति नीति बनाएर काम गर्न सरकार तयार छ ।’ 

मन्त्रालयले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएको भन्दै जो संघ, प्रदेश र स्थानीय तह मिलेर कार्यान्वयन हुनेछ बताउनुभयो । छोरीहरूलाई आत्मनिर्भर बनाउने खालको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । ‘छोरीहरूलाई आत्मनिर्भर बनाउन आवश्यक छ । उनीहरूलाई सीपमूलक कार्यक्रमहरू चाहिन्छ । सँगै सिड मणि पनि चाहिन्छ । यो कुरामा हामीले एक भएर काम गर्न आवश्यक छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘किनभने आत्मनिर्भर नहुँदासम्म यस्ता खाले घटनाहरू, हिंसाहरू भइरहनेछन् । यस्ता कार्यक्रम ल्याएमा केही न केही रूपमा हामीले आत्मनिर्भर बनाउन सक्छौँ ।’ नेपालमा अझै पनि बालबालिका केन्द्रित शिक्षण सिकाइ नभएको भन्दै उहाँले त्यसमा पनि जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले बालगृहमा वा बाल सुधार गृहमा के भइरहेको छ भन्ने कुराको अध्ययन, अनुगमन गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्