काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले खुसी, भाइचारा, सद्भाव, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘इद–उल–अज्हा’, पर्वले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिनुका साथै गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने उल्लेख गरेका हुन् । यो पर्व त्याग, समर्पण र बलिदानको प्रतीकका रुपमा पनि मनाइन्छ ।
“आफ्नो धार्मिक, सामाजिक र सांस्कृतिक महत्वका कारण यो पर्वले हामीलाई एकजुटता र मानवताको उच्च मूल्यहरुलाई स्मरण पनि गराउँदछ । ‘इद–उल–अज्हा’ले हामीलाई यो पनि सिकाउँदछ कि सही बलिदान त्यही हो जुन निःस्वार्थ भावले गरिन्छ र जसमा सबैको कल्याण निहित हुन्छ”, कार्यवाहक राष्ट्रपति यादवले उल्लेख गरेका छन् ।