काठमाडौँ, २७ जेठ । राजधानीमा आयोजना गरिएको स्वतन्त्र फिल्ममेकरको चलचित्र सभाले नेपाली फिल्म क्षेत्रको वर्तमान समस्या र समाधानका उपायसहितको घोषणापत्र सार्वजनिक गरेको छ ।
शनिबार आयोजना भएको उक्त सभाले शक्तिशाली चलचित्र आयोग गठन गर्न प्रस्ताव गरिएको छ । वरिष्ठ फिल्मकर्मी नीर शाहले सभामा आयोग गठन र चलचित्र विकास बैंक स्थापनाको प्रस्ताव राखेका थिए ।
आयोग गठनका लागि सरकारलाई दबाब दिने र वरिष्ठ फिल्मकर्मी दीपेन्द्र गौचनको नेतृत्वमा कार्यदल गठन गरेर दबाब प्रक्रिया अघि बढाउने कुरा पनि घोषणापत्रमा उल्लेख छ । वर्तमान चलचित्र विकास बोर्डलाई आयोगमा रुपान्तरण गर्न प्रस्ताव गरिएको छ । सभामा निर्देशक शाहले चलचित्र विकास बोर्ड गठनको प्रारम्भिक सहमति नै आयोग गठन गर्ने कुरामा भएको बताए । आयोग गठन गरिए घरेलु फिल्मका वर्तमान समस्यालाई संरचनागतरुपमै समाधान गर्न सकिने ठहर उनको छ ।


