काठमाडौँ, २५ जेठ । आईसिसी टी-२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा स्कटल्यान्डसँग नामिबिया ५ विकेटले पराजित भएको छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको नामिबियाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेटको क्षतिमा १५७ रन बनाउँदै शानदार जित निकालेको हो ।
सुरुमा ब्याटिङ गरेको नामिबियाका लागि कप्तान गिरहार्ड इरासमुसले अर्धशतकीय इनिङ खेले। ३१ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाएका हुन्। जेन ग्रीनले २८ रन बनाउँदा निकोलास डेभिनले २० रन जोडेका थिए। अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् । नामिबियालाई सस्तैमा समेट्न स्कटल्यान्डका ब्राड व्हीलले तीन विकेट हात पार्दा ब्राड करीले दुई विकेट लिए। क्रिस सोल, क्रिस ग्रिब्स र माइकल लिस्कले समान एकएक विकेट हात पारे ।
१५६ रनको लक्ष्य पाएको स्कटल्याण्डले गरेको जवाफी ब्याटिङमा कप्तान रिची बेरिंगटनले नटआउट ३५ बलमा सर्वाधिक ४७ रन बनाए। माइकल लिस्क ३५, माइकल जोन्स २६, ब्रान्डन एमसीमुलिनले १९ रन जोडेका थिए । नामिबियाका लागि गेर्हार्ड इरास्मसले दुई विकेट लिँदा बर्नार्ड इस्सोटेज, टांगेनी लुंगामेनी र रुबेन ट्रम्पलम्यानले समान एकएक विकेट हात पारे ।
यो जितसँगै दुई खेल खेलेको स्कटल्यान्ड तीन अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा छ। यो नामिबिया भने २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। समूह ‘बी’मा स्कटलयान्ड, अस्ट्रेलिया, इंग्ल्यान्ड, नामिबिया र ओमान छन् ।