काठमाडौँ, २० जेठ । टी–२० विश्वकपको अभ्यास खेलमा भारतले बंगलादेशलाई ६० रनले हराएको छ । भारतले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रन मात्र बनाउन सक्यो ।
बंगलादेशका लागि महमदुल्लाहले २८ बलमा ४० रन बनाए । उनले यस क्रममा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, शाकिब अल हसनले ३४ बलमा २८ रन जोडे । तान्जिद हसनले १८ बलमा १७ रन तथा तोहिद हृदोयले १४ बलमा १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
यसअघि भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । भारतका लागि ऋषभ पन्तले अर्धशतकीय पाली खेले । उनले ३२ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५२ रन बनाए । उनलाई २३ बलमा ४० रन बनाउँदै हार्दिक पाण्ड्याले राम्रो साथ थिए । पाण्ड्याले २ चौका र ४ छक्का हिर्काए ।
सूर्यकुमार यादवले १८ बलमा ३१ रन तथा कप्तान रोहित शर्माले १९ बलमा २३ रन बनाए । बंगलादेशका लागि मेहदी हसन, सोरिफुल इस्लाम, महमदुल्लाह र तनभीर इस्लामले १–१ विकेट लिए ।







