काठमाडौँ, २५ वैशाख । बलिउड क्वीन कंगना रनौत यतिबेला सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)बाट लोकसभाको चुनाव लडिरहेकी छन् । उनलाई हिमाञ्चलको मन्डी निर्वाचन क्षेत्रबाट टिकट मिलेको छ ।
आफूले जित्ने आशा उनको छ । यसबारे कंगनाले भनिन्, ‘मैले फिल्ममा अभिनय र निर्देशन दुवै गर्छु । यदि मैले राजनीतिमै सम्भावना देखें भने र मानिस मसँग जोडिए भने अवश्य पनि राजनीति नै गर्छु । निश्चय नै म एउटा काममा फोकस हुन चाहन्छु ।’
‘यदि जनतालाई मेरो आवश्यकता छ भन्ने लाग्छ भने म त्यसतर्फ लाग्नेछु । मण्डीबाट जितें भने राजनीति मात्र गर्छु । धेरै फिल्मकर्मीले मलाई राजनीतिमा नजानु भन्छन् । जनताको अपेक्षा पूरा गर्नैपर्छ,’ उनले भनिन्, ‘मेरो व्यक्तिगत महत्वाकांक्षाका कारण मानिसलाई पीडा भइरहेको छ भने त्यो राम्रो होइन । मैले एउटा सम्पन्न जीवन जिएँ । यदि अब मलाई जनतासँग जोडिने मौका मिल्यो भने लाग्छ कि सबैभन्दा पहिले जनताले तपाईंबाट गरेको अपेक्षालाई न्याय गर्नुपर्छ ।’
उनले फिल्मभन्दा राजनीतिक जीवन एकदमै भिन्न हुने बताइन् । के अब यो कुरा सही हुन गइरहेको छ ? उनी भन्छिन्, ‘राजनीति झुटको दुनियाँ हो । त्यहाँ एक अलग वातावरण बनाइन्छ । मान्छेलाई आकर्षित गर्न भ्रमित वातावरण बनाइन्छ । तर राजनीति एक वास्तविकता हो । जनताको अपेक्षा पूरा हुनैपर्छ । म जनताको सेवामा छु । धेरै नयाँ कुरा सिक्न बाँकी छ ।’