काठमाडौँ, २५ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएका छन् ।
पार्टीका प्रवक्ता मनिष समुनका अनुसार आज पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको हो । दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष निकाल्दै जसपा नेपाल न्यायका लागि अदालत जाने निष्कर्षमा पुगेको उनले बताए ।
बुधबार यस विषयमा कानुनी परामर्श लिएर अगाडि बढ्ने बताउँदै उनले पार्टीमाथि राज्यकै तर्फबाट षड्यन्त्र भएकाले कानुनी उपचारमा जाने अवस्था आएको बताए । पार्टीको आधिकारिकता दिँदा थुप्रै ठाउँमा कानुनी त्रुटि भएको आफूहरूले पाएको उनले बताए । उनले यसका लागि कानुन विज्ञसँग छलफल भइरहेको बताए ।
पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन बुधवार पत्रकार सम्मेलनको समेत आयोजना गरिएको उनले बताए ।