काठमाडौँ, २३ वैशाख । नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्र मन्त्री कामीकावा योकोले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेकी छन् ।
आज शीतल निवासमा भएको सो शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेको राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखिनै नेपाल जापानबिच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबिच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधैँ जापानको उच्च सद्भाव महसुस गरेको पनि बताएका थिए ।
सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताएकी थिइन् । उनले सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रयोगका निम्ति प्रविधिमा ठुलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताइन् । नेपालको विकास र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने उनको भनाई थियो ।