एजेन्सी, १९ वैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा चीन सरकारले देशभर पाँच दिनको छुट्टी (बिदा) दिएको छ ।
छुट्टीपछि चिनियाँ नागरिक आन्तरिक पर्यटन प्रवर्द्धनका लागि घुम्न निस्केका छन् । यो हप्ता चिनियाँहरू ‘सुनौलो सप्ताह’ मनाउँदै घुमफिरमा हिँडेका हुन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार पाँच दिनको छुट्टीमा करिब २५ देखि ३० करोड नागरिक घुमफिरमा निस्कने अनुमान गरिएको छ । कम्युनिस्ट शासित मुलुक चीनमा वर्षमा ११ दिनमात्र सार्वजनिक बिदा हुन्छ । सरकारले सार्वजनिक बिदा हुने दिनमा अगाडि र पछाडिको दिनमा सापटी बिदा मिलाएर नागरिकलाई अन्तरिक पर्यटन प्रोत्साहन गर्दै आएको छ । सन् २०१४ देखि चीन सरकारले यस्तो सापटी बिदाको चलन सुरु गरेको हो ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा यस खालको सापटी बिदाले आन्तरिक अर्थतन्त्रमा निकै राम्रो प्रभाव पारेको छ । त्यसैबिच, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले देशभरका श्रमिक जनतालाई बिदाको शुभकामना दिएका छन् ।