एजेन्सी, १७ वैशाख । भारतीय कोस्ट गार्डले गुजरातको पोरबन्दरको पश्चिममा लागु औषध विरोधी अभियानमा १४ पाकिस्तानी नाविकसहितको डुङ्गालाई रोकेको छ । उक्त डुङ्गाबाट ८६ किलो लागु औषध बरामद भएको कोस्ट गार्डले जनाएको छ, जसको अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब ६०० करोड भारतीय रुपैयाँ रहेको छ ।
कोस्ट गार्डका अनुसार गुजरात प्रहरीको एटीएस र नार्कोटिक्स कन्ट्रोल ब्यूरोको टोली पनि यो डुङ्गा समात्न अभियानमा संलग्न रहेको थियो ।गत महिना पनि कोस्ट गार्डले ८० केजी लागु औषध बरामद गरेको थियो ।
गुजरातका डीजीपी विकास कुमारले एक विज्ञप्तिमा यी लागु औषध भारतीय बजारका लागि नभई श्रीलङ्का लगिएको बताएका छन्। अल रजा नामको पाकिस्तानी डुङ्गामा १४ जना पाकिस्तानी सवार थिए । उनीहरू सबै बलुचिस्तानका नागरिक हुन्। पाकिस्तानी नागरिकलाई हिरासतमा लिएर डुङ्गाको तलासी गर्दा कुल ८६ किलो तौल भएको लागु औषधका ७८ प्याकेट भेटिएको उनले बताए ।