एजेन्सी, २९ चैत । अमेरिकाले युक्रेनलाई सहयोग गर्न हतियारको ठुलो खेप पठाएको छ । यसले युक्रेनलाई रुसविरुद्धको लडाइमा मद्दत गर्ने सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यी हतियारहरू अमेरिकी सेनाले चारवटा जहाजबाट बरामद गरेको थियो । सेनाका अनुसार यी हतियारहरू इरानले यमनका हुथी विद्रोहीहरूलाई पठाएको थियो । अमेरिकी नौसेनाले हजारौँ असल्ट राइफल र १० लाखभन्दा बढी राउण्ड गोला बारुद बरामद गरेको छ ।
गत वर्षदेखि बाइडेन प्रशासनले जफत गरेको हतियारलाई युक्रेनी सेनालाई कानुनी रूपमा पठाउने काम भइरहेको छ । युक्रेनलाई सहयोग गर्न अमेरिकाले इरानबाट जफत गरिएका पाँच हजारभन्दा बढी एके–४७, रकेट लन्चर र हजारौँ राउण्ड गोलाबारी पठाएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले घोषणा गरेको छ । वास्तवमा, युक्रेनले रुस विरुद्धको युद्धमा हतियार र युद्ध सामग्रीको गम्भीर अभावको सामना गरिरहेको छ ।