काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ ।
महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने छ । अहिले अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीअनुसार नभएको भन्दै एक महिनाभित्र फेर्न सूचना जारी भएको हो ।
‘नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाइ एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेश गर्नहुन अनुरोध छ,’ महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।





