मुम्बई, ९ चैत । भारतीय प्रख्यात कमेडियन कपिल शर्माविरुद्ध परेको एक उजुरीलाई अदालतले खारेज गरिदिएको छ ।
उनी अहिले नयाँ शोको रिलिजको तयारीमा छन् । जुन शो नेटफ्लिक्समा रिलिज हुँदैछ । दुई वर्षअघि ‘द कपिल शर्मा शो’ को एक एपिसोडमा अदालतको एक कोठा तयार पारिएको थियो । जहाँ करिब ८ मिनेटसम्म अदालतको कारबाही देखाइएको थियो । जहाँ कपिल शर्मा र उनका साथीहरूले अदालतको कोठामा हुने कानुनी कारबाहीका बारेमा अभिनय गरेका थिए । यो एपिसोडमा कपिल वकिलको भूमिकामा थिए । उनले दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गर्दै मदिरा मागेका थिए ।
यो एपिसोड हेरेका ग्वालियरका मजिष्ट्रेट कोर्ट र सेशन कोर्टका अधिवक्ता सुरेश धाकडाले शोका निर्मातासँगै शोका होस्ट कपिल शर्माविरुद्ध मुद्दा दर्ताको माग गर्दै उजुरी दिएका थिए । उजुरीमा शोको माध्यमबाट अदालतको छविलाई धमिल्याउने प्रयास गरिएको उल्लेख थियो ।
यही मामलामा हाई कोर्टको ग्वालियर खण्डपिठले कपिललाई राहत दिएको छ । अदालतले उजुरीलाई सुनेर आफ्नो प्रतिक्रिया दिएको छ । अदालतका अधिवक्त सुरेशलाई पनि पब्लिसिटी स्टण्टका लागि प्रहरीको काँधको उपयोग नगर्न सचेत गराएको छ ।