काठमाडौँ, ८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् ।
आज नेकपा (एमाले) बागमती प्रदेशले मध्यपुरथिमिको बोडेमा आयोजना गरेको बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अब पार्टी सदस्यताकै आधार बनाएर टिकट नदिने बताए ।
उनले भने, “देश र जनताको काममा सक्रिय भएर लाग्नुस्, समाजको विकासमा लाग्नुस्, पार्टीको काममा सक्रिय हुनुहोस्, तबमात्रै टिकट पाइन्छ । पार्टीको अब आउने अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस्, पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन् ।”
पार्टीले जिल्ला–जिल्लामा भेला र प्रशिक्षण आयोजना गर्ने तथा ती भेला र प्रशिक्षण नै परीक्षाको रूपमा रहने भन्दै उनले देश र पार्टी बनाउन एमालेका नेता, कार्यकर्ता एक भएर लाग्नुपर्ने बताए ।