एजेन्सी, ८ चैत । खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानका मन्त्रीहरूले तलब नलिने घोषणा गरेका छन् ।
केही दिन अघि त्यहाँ नवनियुक्त राष्ट्रपति आसिफ अली जरदारीले तलब नलिने घोषणा गरेका थिए । अहिले प्रधानमन्त्री शाहबाज सरिफ र उनका मन्त्रीहरूले पनि देशको कमजोर आर्थिक अवस्थालाई विचार गरेर तलब नलिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति अनुसार सरकारले अनावश्यक खर्चमा कटौती गर्ने निर्णय गरेको हो । सरकारको मितव्ययिता नीतिअनुसार सबै मन्त्रीहरूले तलब र त्यससँग सम्बन्धित सबै सुविधा छाड्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
आर्थिक संकटको गम्भीरतालाई ध्यानमा राख्दै शहबाज शरीफको मन्त्रिपरिषद्ले सरकारी खर्चमा विदेशी भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सरकारले संघीय मन्त्री, सांसद र सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा नजान निर्देशन दिएको छ ।