काठमाडौँ, ६ चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालले महिला र युवतीहरूको अधिकार र मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको बताएकी छिन् ।
अमेरिकाको न्यूयोर्कमा जारी युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले महिलाले विश्वको आधा जनसङ्ख्याको आधा सम्भावना बोकेको भएता पनि विश्वव्यापी लैङ्गिक समानता हासिल गर्न चुनौतीहरू रहेको बताइन् ।
उनले भनिन्, ‘सेक्युरिटी जनरलको रिपोर्टले काम गर्ने समय, रोजगारी, वित्तीय समावेशीकरण, वित्तीय स्रोतमा पहुँच र सामाजिक सुरक्षामा महिला र पुरुषबिचको ठुलो अन्तर देखाउँछ । सामाजिक सुरक्षा, समावेशी दिगो विकास लक्ष्य हासिल गर्न लैङ्गिक समानता, महिला सशक्तीकरण महत्त्वपूर्ण रहेको छ ।’
नेपालले महिला र युवतीहरूको अधिकार र मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको मन्त्री चौधरीले बताइन् । नेपालको संविधानले महिला र युवतीहरूको पारिवारिक मामिला र सम्पत्तिको हक लगायत मौलिक हकको प्रत्याभूति गरेको भन्दै मन्त्री चौधरीले नेपालमा महिला र युवतीहरूको सङ्घीय र प्रादेशिक संसद्को ३३ प्रतिशत, स्थानीय सरकारमा ४० प्रतिशत सिटको ग्यारेन्टी गरेको उल्लेख गरिन् ।