काठमाडौँ, ६ चैत । शर्मिला विश्वकर्मा । विभिन्न खेलकुदका कार्यक्रमहरू मध्ये साहसिक पदयात्रा तथा दौडहरू एड्भेन्चर रनिङ अन्तर्गत पर्दछन् । अहिले प्रचलनमा एड्भेन्चर रनिङ अन्तर्गत ट्रेल रनिङ, वरेन्टेरिङ रनिङ, अल्ट्रा रनिङ, अल्ट्रा ट्रेल रनिङ आदी पर्दछन् । नेपालमा विश्वको अग्लो पहाड, स-साना खोचहरू, उकालो ओरालो, हिमाली भाग, पहाडी भाग रहेका छन् । यी ठाँउहरुमा एड्भेन्चर रनिङ मानिसहरूले रुचि राख्ने भएकोले नेपाल एड्भेन्चर रनिङ महासंघको स्थापना गरिएको हो । यसै महासंघको आज चैत ५ गते काठमाडौँमा पहिलो वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ ।
नेपाल एड्भेन्चर रनिङ महासंघको यस साधारण सभाले आगामी ४ वर्षका लागि इकेन्द्र बहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगनाथ तिमल्सिना, मिरा राई र मनबहादुर खत्री, महासचिवमा सुवास थापा, सचिवमा विनायक जय मल्ल र तकत बहादुर कुँवर तथा कोषाध्यक्षमा रिकेश योञ्जन निर्वाचित हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा सहदेव व्यञ्जनकार, राजमान महर्जन, सुजित कुमार श्रीवास्तव, चन्द्रबहादुर थापा र प्रवीण कुमार थापा रहनु भएको छ ।
यसै क्रममा नवनिर्वाचित अध्यक्ष इकेन्द्र बहादुर कुँवरले नेपालमा काम गर्ने विभिन्न ६ वटा साहसिक खेलहरूका संस्थाहरूलाई आबद्ध गराएर यस महासंघको स्थापना गरिएको भन्दै साहसिक पदयात्रा तथा दौडहरू मार्फत नेपालको पर्यटनको प्रवर्धन र विकासका लागि काम गरिने बताउनु भयो । साथै उहाँले यो एडभेन्चर मार्फत नेपाललाई विश्व सामु चिनाउने, नेपालको खेलकुदको विकासको लागि उनीहरूको रुचि अनुसार सबै वर्ग तथा समुदायलाई समावेश गर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी नवनिर्वचित महासचिव सुवास थापाले नेपाल एडभेन्चर रनिङ महासंघले एथेलेटिक्स बाहेक नेपाल लगायत विश्वका विभिन्न ठाउँमा हुने एडभेन्चर रङिनसँग सम्बन्धित प्रतियोगिताहरूलाई एउटै छातामा समावेश काम गर्ने लक्ष्य रहेको भन्दै एडभेन्चर रनिङ प्रतिस्पर्धाका लागि नभएर रमाइलोका लागि र स्वस्थ रहनका लागि गरिने बताउनु भयो । यसै क्रममा उहाँले यो एडभेन्चर रङिनमा जुनसुकै शारीरिक क्षमताका व्यक्तिहरू पनि सहभागी हुन सक्ने र यसले नेपालको पर्यटन व्यवसायलाई बढाउँदै नेपाललाई विश्व सामु चिनाउन सहयोग गर्ने बताउनु भयो ।