काठमाडौँ, ३ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई अहिले नै शत्रु घोषणा गर्ने विषय कुनै हालतमा उचित नहुने बताएका छन् ।
आज पार्टीको रौतहट– काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानको पक्षपोषण र गणतन्त्रको रक्षाका निम्ति भूमिका खेल्न सक्ने नेपाली कांग्रेसलाई अहिले नै शत्रु घोषणा गर्ने विषय कुनै हालतमा उचित नहुने बताए ।
त्यसैगरी उनले सत्ता गठबन्धनको कार्यदलले शीर्ष तहमा साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन बुझाएको बताए । संविधान र मुलुकका विभिन्न उपलब्धिलाई समाप्त पार्ने काम भइरहेको भन्दै उनले एकताबद्ध भएर यसको प्रतिकार गर्नुपर्नेमा जोड दिए । आउँदो जेठ ३ देखि ७ गतेसम्म पार्टीको १०औँ महाधिवेशन गर्ने तयारी रहेको भन्दै उनले त्यसका सिलसिलामा संगठन निर्माण र सदस्यता वितरणका निम्ति देशव्यापी अभियानमा जुटेको उल्लेख गरे ।