काठमाडौँ, २४ फागुन । नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले आफूहरूलाई अहिले बधाईभन्दा पनि शुभकामनाको खाँचो रहेको जिकिर गरेकी छन् । बधाईको लागि पनि पछि कार्यतालिका नै बनाउने बताउँदै उनले अहिले डटेर काम गर्ने मौका दिन आग्रह गरेकी हुन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘भेट्न इच्छा गर्नुभएका सम्पूर्णका निम्ति हामीले शुक्रवार ३–५ बजे छुट्ट्याउने गरि कार्यतालिका बनाउँदै छौँ। हाम्रो सचिवालय प्रशासनको कार्यसम्पादनलाई पनि सबल बनाउन तपाईँको सहयोग चाहिन्छ। औपचारिकतामा रुमल्लिएर बस्ने छुट यो देशसँग छैन ।’
आजबाट आफूहरूको परीक्षा सुरु भएको उनले बताएकी छन् । ‘देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै नै काम गर्नुपर्नेछ। जति हामीलाई काम गर्ने उत्सुकता छ, त्यति नै हामीलाई यहाँको निरन्तर साथ को पनि आवश्यकता पर्नेछ,’ उनले भनेकी छन्, ‘सधैँ जनता माझ हुने हाम्रो प्राथमिकता हिजो एउटा सांसदका रूपमा पनि थियो र आज एउटा मन्त्रीका रूपमा पनि रहनेछ। हामीलाई आफ्ना सल्लाह, सुझाव, गुनासा राख्दै गर्नुहोला। यसको लागि हामी एउटा विशेष कार्यतालिका नै बनाउँदै छौँ। अन्तरक्रिया र सल्लाह सुझाव सकेसम्म अनलाइनबाट गर्नेछौँ।’