काठमाडौँ, २२ फागुन । दसवर्षे सशस्त्र युद्धको नेतृत्व र पछि शान्ति प्रक्रियामा आएपछि डेढ दशक प्रधानमन्त्री बनेर मुलुकको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालका क्रमभंग सामान्य छैनन् । पार्टीको नेतृत्व लिएको ३४ वर्षपछि उनले लिएको रणनीतिक क्रमभंगले नेपाली राजनीति तरंगित बनाइरहेको छ ।
संयुक्त जनमोर्चाको नामबाट ‘संसदीय निर्वाचनलाई उपयोग’ को नीति लिई ८ सिट जितेको उनको नेतृत्वको पार्टीर्ले ०५२ मा सशस्त्र युद्ध सुरु गर्दा पहिलो क्रमभंग थियो । युद्धको दौरानमा प्रहरी चौकी हुँदै सदरमुकाम आक्रमण गर्दै ‘अपत्यारिलो’ सफलता हासिल गरेकै बेला तत्कालीन राजा वीरेन्द्रसँग संवादको प्रयास गर्नु अर्को क्रमभंग मात्र थिएन, दाहालको ‘लेफ्ट’ बाट ‘राइट’ ढल्किने यात्रा थियो ।
त्यसपछि उनले निरन्तर ‘लेफ्ट–राइट’ रणनीति लिइरहेका छन् । जसका कारण उनी नेपाली राजनीतिको केन्द्रमा रहिरहन्छन् । गत स्थानीय, संघ र प्रदेश निर्वाचनमा कांग्रेससित तालमेल गरेका दाहालले प्रधानमन्त्रीमा कुरा नमिल्दा चुनावलगत्तै एमालेसँग सहकार्य सुरु गरेका थिए । त्यसको दुई महिनापछि राष्ट्रपति उम्मेदवारमा विवाद भएपछि कांग्रेसतिर ढल्केका थिए ।
‘लेफ्ट–राइट’ यात्राकै क्रममा एक वर्ष नौ दिन कांग्रेससँग यात्रा गरेका उनले सोमबारदेखि एमालेसहित एउटै डुंगामा यात्रा सुरु गरेका छन् । उनको यो लेफ्ट घुमाइले उनको प्रधानमन्त्रित्वकाल त लम्ब्याएको त छ तर ०८४ को निर्वाचनसम्मको यात्रा भने सहज छैन । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्तिसँग सहमति गरेपछि राजधानीमा आयोजित सहिद सप्ताहमा दाहालले नयाँ गठबन्धनबारे आफ्नै व्याख्या गरे । उनले मार्क्सवादको मार्गनिर्देशनमा नै दायाँबायाँ हुँदै अघि बढ्ने दाबी गरे ।
‘क्रान्तिको बाटो सोझो छ ? हामीले मार्क्स, लेनिन, माओ, चेग्वेभराको कुरा गर्छौं । उनीहरू हिँडेको बाटो राजमार्गजस्तो सिधा थियो ?’ उनले आफैंलाई प्रश्न गरे, ‘मान्छे दुई खुट्टाले हिँड्नुपर्छ । बायाँ गयो भने बायाँ बायाँ, र दायाँ गयो भने दायाँ दायाँ ? त्यो पनि हुन्छ ? यो मार्क्सवाद हो ? होइन ।’ उनले ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ भन्दै कहिले दायाँ र बायाँ हिँड्नु सही बाटो भएको दाबी गरे ।
‘गन्तव्यमा पुग्न दुइटै खुट्टाले दायाँ र बायाँ हिँड्ने हो,’ उनले भने, ‘माओवादी निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन,’ उनको दाबी थियो, ‘निरन्तरतामा क्रमभंगता गर्दै नयाँ नयाँ परिस्थिति सिर्जना गर्ने जात हो । आज फेरि निरन्तरतामा क्रमभंगता भएको छ । आज जे भएको छ, ठूलो कुरा हो ।’ नेपाली राजनीतिको खेलाडीका रूपमा उनले नयाँ सत्ता समीकरण बनेसँगै आफूलाई प्रस्तुत गरे । ‘विप्लव (नेत्रविक्रम चन्द) उठ्दा तपाईंहरूमा एउटा तरंग हुन्छ,’ उनले सबै माओवादी धारका नेता तथा कार्यकर्ता भेलामा सोमबार भने, ‘म त म नै भई हालें । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ ।’
०६५ को संविधानसभामा सबभन्दा ठूलो दल बनेपछि एमालेसँग यात्रा सुरु गरेको हुनाले त्यसपछि कहिले कांग्रेस फेरि एमालेसँग पालैपालो गठबन्धन गरिसकेका छन् । जसका कारण उनलाई अस्थिर र अनुमान गर्न नसक्ने नेताका रूपमा आलोचना गरिन्छ । उनले नयाँ समीकरण बनाएलगत्तै यसको स्पष्टीकरण दिन भ्याए । ‘मेरो नेतृत्वलाई प्रतिक्रियावादीले अविश्वसनीय अनप्रेडिक्टेबल भन्छन् । म त्यस्तो होइन । नेपाल राष्ट्रप्रति प्रेडिक्टेबल छु,’ उनको भनाइ थियो, ‘प्रतिक्रियावादीले उपयोग गर्न खोजे कुनै पनि बेला लात्ताले हानेर निक्लन सक्छु ।’ ०६५ साउनमा सबभन्दा ठूलो दलको नेताका रूपमा प्रधानमन्त्री भएका तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई कारबाही गर्न खोज्दा नौ महिनामा सरकारबाट बाहिरिए । ०६६ वैशाखमा प्रधानमन्त्रीबाट अकस्मात् राजीनामा गर्दादेखि सोमबार एमालेसँग सहकार्य गर्दासम्म उनले धेरै बाइरोडको बाटोजस्तै दायाँबायाँ गरिसकेका छन् । ०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरी चुनाव लडेका उनी ३ जेठ ०७५ मा एमालेसँग पार्टी एकता नै गर्न पुगे । त्यसपछि दाहालले ०७७ फागुनमा एमाले अध्यक्ष ओलीसँग सम्बन्ध विच्छेद गरे । त्यसअघि फर्केर हेर्दा १७ पटकसम्म प्रधानमन्त्रीमा बहुमत पुर्याउन नसक्दा क्रमभंग गरेर ०६७ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गरेका थिए ।
०६७ माघमा संसद्मा प्रधानमन्त्रीको दौड छाडेर उनले तत्कालीन एमाले अध्यक्ष खनाललाई प्रधानमन्त्री बनाएका थिए । उनले त्यसबेला आफ्नै बलबुताले सरकार बनाएको दाबी गरेका थिए । तत्कालीन कांग्रेस सभापति सुशील कोइराला सरकार बाहिरै बसेको माओवादीले ०७२ असोजमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनायो । ओलीसँग असमझदारी भएपछि दाहालले जेठ ०७३ ओली सरकार ढालेका थिए । त्यसपछि कांग्रेससँग सहकार्य गर्न पुगे । ०७३ साउनमा कांग्रेससित सहकार्य गरी दाहाल आफैं दोस्रोचोटि प्रधानमन्त्री बने । १० जेठ ०७४ मा राजीनामा दिएर बाटो खुला गरेपछि देउवा प्रधानमन्त्री बने ।
०७४ मंसिरमा आम चुनावको मुखमा वापमन्थी एकता भन्दै उनले एमालेसँग चुनावी गठबन्धन गरे । ०६५ जेठमा पार्टी एकता गरी नेकपा बनाए । तीन वर्ष नपुग्दै ओलीसँग शक्ति संघर्ष चर्कियो । सर्वोच्चले एमाले–माओवादी अलग गरिदिएपछि ओलीसँग सम्बन्धविच्छेद गरेका थिए ।
ओलीले दुई पटक संसद् विघटन गरेपछि कांग्रेससँग सडकमा आएको माओवादी सर्वोच्चको परामदेशपछि पुनः सरकारमा पुग्यो । संविधानको रक्षा गर्ने भन्दै दाहालले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरे । ०७९ मा स्थानीय, संघ, प्रदेश निर्वाचनमा कांग्रेससँग तालमेल गरे । चुनावी परिणामपछि कांग्रेसले दाहाललाई प्रधानमन्त्री नदिएपछि एमालेसँग हात मिलाएर प्रधानमन्त्री भए ।
राष्ट्रपति कसलाई बनाउने विषयमा एमालेसँग कुरा नमिलेपछि दुई महिनामै एमालेसँग सहकार्य तोडेर कांग्रेससँग पुनः हात मिलाएका थिए । कांग्रेससँग एक वर्ष नौ दिन सहकार्य गरेपछि उनले फेरि ‘लेफ्ट’ कदम चालेका छन् । उनले लेफ्ट कदम चाल्नको मुख्य तीन कारण भनेका छन् । पहिलो, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा अघि बढाउने । दोस्रो, वापमन्थी एकताको आधार बनाउने । र, तेस्रो राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रकारकारी बनाउन तथा मुलुकको सुशासन, विकास र सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउने ।
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले प्रधानमन्त्री दाहालले कांग्रेससित गठबन्धन तोड्नु रहर र बाध्यता दुवै भएको ठान्छन । ‘कुनै नेताले रहरले मात्र दायाँबायाँ नीति लिँदैन । कतिपय बाध्यता पनि हुन्छन्,’ उनले भने, ‘प्रचण्ड (दाहाल) लाई कांग्रेससित सरकारमा बस्न सहज भए पनि प्रधानमन्त्री आफैं निरीह भएपछि गठबन्धन फेर्नु बाध्यता पनि हुन सक्छ ।’
देउवासँग सम्बन्ध विच्छेद गरी ओलीसँग सहकार्य सुरु गरे पनि आगामी यात्रा सहज भने छैन । ‘प्रधानमन्त्रीले काम गर्दै जाँदा केपी शर्मा ओलीको व्यवहार कस्तो हुन्छ, आगामी यात्रा त्यसमै निर्भर हुन्छ । प्रधानमन्त्रीले स्वतन्त्रतापूर्वक काम गर्न पाउँछन् कि पाउँदैनन्,’ उनले भने, ‘तर यो गठबन्धन सहज छैन । किनकि ओलीले विगतमा गरेको कमजोरी महसुस गर्नुहुन्छ कि हुँदैन, त्यो महत्त्वपूर्ण हो । त्यसबेला प्रचण्डजी फेरि राइट मोडिन सक्नुहुन्छ ।’
माओवादी सचिव राम कार्कीले पुराना पार्टीका प्रमुख नेताहरूमा सत्तामा जाने कलाकै करामत ठान्छन्, गठबन्धन फेरबदल । ‘राजनीतिक कलासँगै विचार विज्ञान हुनुपर्छ,’ उनले भने, ‘एमाले माओवादीको नेतृत्वमा बनेको गठबन्धनले किसान, मजदुर र निम्न वर्गको मुद्दा समाधान गर्ने महत्त्वपूर्ण कुरा हो ।’
नेपाल समाजवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालका पूर्वसहयोद्धा बाबुराम भट्टराईले दाहालमा इमानदारिताको कमी भएको टिप्पणी गरे । उनले दाहालले विगतको ब्याज खाइरहेको बताए । ‘अंग्रेजीमा एउटा शब्द छ, क्याकिस्टोक्रेसी । अक्षमहरूको नेतृत्व भएको सत्ता । अक्षम मानिसहरूले सत्ता चलाउनु । नेपालमा क्याकिस्टोक्रेसी छ भन्दा हुन्छ,’ उनले भने, ‘उहाँहरूले आन्दोलनको ब्याज खाइरहनुभएको छ, कांग्रेसले ००७ सालको, एमालेको पञ्चायतविरुद्ध आन्दोलनको र माओवादीले जनयुद्धको ब्याज खाइरहेको छ ।’
उनले दाहाल जसरी पनि सत्ताको गणितमा खेलिरहेको टिप्पणी गरे । ‘पुराना लेफ्ट पार्टी मिलाएर समाजवादी मोर्चा बनाऔं भन्ने मेरो प्रस्ताव थियो । उहाँले सत्ताको गणित मिलाउन समाजवादी मोर्चाको कार्टुन बनाउनुभयो,’ भट्टराईले भने, ‘चिन्तन त उहाँको कमजोर छँदै थियो, इमानदारिताको समस्या देखियो ।’
माओवादी युवा नेता लेखनाथ न्यौपानेले विगतमा ओली र दाहालबीच जुँगाको लडाइँले सहकार्य टुटेको स्मरण गर्दै अब पनि त्यो जोखिम कायम रहेको बताए । ‘अध्यक्ष प्रचण्डको लेफ्ट टर्न सही हो तर दुई नेताको जुँगाको लडाइँ फेरि सुरु भयो भने लामो समय गठबन्धन जान मुस्किल हुन्छ,’ उनले भने । कान्तिपुरबाट