काठमाडौँ, १७ फागुन । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकीलाई पहिलो प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् ।
आज नेपाल विश्व सम्बन्ध परिषद्को ७६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको बताए ।
उनले भने, “दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो छ । नेपालको भूखण्ड हिमालयका दुवै छेउका विशाल भू–भागहरू बीचको एउटा प्रवेशद्वार भएकोले महत्त्वपूर्ण छ । नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्छ ।”