काठमाडौँ, २९ माघ । ‘इण्डियन आइडल’ फेम्ड नेपाली गायिका मेनुका पौडेलले सञ्जय मिश्रा स्टारर ‘कर्मा मिट्स किस्मत’बाट पाश्र्वगायिकाको रुपमा बलिउड डेब्यु गर्ने भएकी छन् ।
भारतीय समाचार संस्था आइएएनएसले आइतबार जनाएअनुसार यो फिल्मलाई गीताञ्जली सिन्हाले लेखन तथा निर्देशन गर्नेछिन् । यो फिल्ममा चर्चित अभिनेता मिश्रासहित फरिदा जलाल, अल्का अमिन, वैष्णवी म्याकडोनाल्ड, अम्मन खान र नुपुर शर्माको अभिनय रहनेछ । यो फिल्ममा सोनु निगम र साधना सरगमले पनि गीत गाउनेछन् ।
मेनुकाले यसअघि ‘सलार’बाट दक्षिण भारतीय फिल्ममा पाश्र्वगायिकाको रुपमा डेब्यु गरेकी थिइन् । ‘कर्मा मिट्स किस्मत’ उनको दोस्रो भारतीय प्रोजेक्ट हुनेछ ।