काठमाडौँ २ माघ । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये दुई जहाज प्राविधिक समस्स्याका कारण ग्राउन्डेड भएका छन् ।
यसबाट सयौं यात्रुको यात्रा प्रभावित बनेको छ । निगमको दर्ता नम्बर (एन–एएलजेड ए३३) सिरिजको वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको निगमले जनाएको छ ।
निगमका अनुसार हिजो राति दोहा उड्नुपर्ने जहाजको उडान रोकिएको छ र रोकिएका यात्रुलाई आज साँझ ७ः ४५ बजेको उडानबाट दोहा लैजाने गरी तयारी गरिरहेको छ भने जहाजहरू ग्राउन्डेड हुँदा उडानहरू डिले हुने छन्, सकेसम्म पूर्वनिर्धारित उडान रद्द नगर्ने गरी योजना बनाएका निगमले जनाएको छ ।
निगमको एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । एक महिनाभन्दा लामो समय नेपालमै ग्राउन्डेड भएको यो जहाज बेलैमा मर्मतको व्यवस्था मिलाउन नसक्दा निगमको एकैसाथ अन्तर्राष्ट्रिय उडानमा दुई जहाज कमी हुन पुगेको हो ।