एजेन्सी, २६ पौष । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन् ।
प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा एक दिन अघि उक्त टिप्पणी गरेका हुन्।
नेतन्याहूले भने, “इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।” उनले गाजामा इजरायलले गरेको बमबारी हमासका लडाकूहरुलाई लक्षित गरी गरिएको र हामीले अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै यस्तो गरिरहेको बताए । नेतन्याहूले भने, “इजरायली सेनाले नागरिक हताहत कम गर्न सक्दो प्रयास गरिरहेको छ भने हमासले प्यालेस्टिनी नागरिकलाई मानव ढालको रूपमा प्रयोग गरेर उनीहरूलाई अधिकतम बलियो बनाउन सक्दो प्रयास गरिरहेको छ ।
“हाम्रो लक्ष्य गाजालाई हमासका ‘आतङ्ककारी’ लडाकूहरूबाट मुक्त गर्नु र हाम्रा बन्धकहरूलाई मुक्त गर्नु हो,” उनले भने ।






