शिक्षक कर्मचारीमाथि शोषण : तलब दिँदैनन् निजी क्याम्पस

काठमाडौँ, २४ पौष । पछिल्लो समय निजी शिक्षण संस्थाबाट शिक्षक कर्मचारीमाथि शोषण गर्ने क्रम बढेको छ । काम लगाउने तर नियमित तलब सुविधा नदिने र तलब मागेमा रोजगारीबाटै निकालिदिने प्रवृत्ति पनि झाँगिदै गएको छ । काममा लगाएर पनि तलब भत्ता नदिने यस्ता शैक्षिक संस्थालाई कारबाही तथा आफूहरूको पारिश्रमिक दिलाइदिन माग गर्दै शिक्षकहरूले काठमाडौँको जिल्ला प्रशासन कार्यालय तथा काठमाडौँ महानगरपालिकालाई समेत गुहार्न थालेका छन् । 

काठमाडौँ महानगरपालिकाका अनुसार आधा दर्जनभन्दा बढी शिक्षण संस्थाले तलब भत्ता नदिएको भन्दै शिक्षकले लिखित उजुरी नै दिएका छन् । पछिल्लो समय शान्तिनगरस्थित ग्लासियर इन्टरनेसनल कलेजका शिक्षकले आफूहरूको पारिश्रमिक प्राप्त गर्न आवश्यक सहयोग गरिदिन जिप्रका काठमाडौँलाई लिखित अनुरोध गरेका छन् । उक्त क्याम्पसले आफूहरूको २० लाख रुपियाँभन्दा धेरै रकम नदिएको भन्दै शिक्षकहरूले पहिलो पटक गत असार १८ गते कामपामा लिखित उजुरी दिएका थिए । शिक्षकको उजुरीपछि महानगरको शिक्षा अधिकारी सीताराम कोइरालाले गत असार ३० गते क्याम्पसको नाममा पत्र काटेर शिक्षकको पारिश्रमिकबारे तथ्य जानकारी दिन एक साताको अल्टिमेटम दिएको थियो । 

महानगरले ताकेता गरेपछि क्याम्पसले साउन ९ गते महानगरका शिक्षा अधिकारीलाई सम्बोधन गर्दै पठाएको पत्रमा शिक्षकहरूको बाँकी रहेको तलब असोज मसान्तभित्रमा भुक्तानी गरिसक्ने जानकारी गराएको थियो । तर अझै पनि आफूहरूलाई तलब नदिएको शिक्षकहरूको गुनासो छ । २१ जना शिक्षकको तलब दिन बाँकी छ । तीमध्ये कसैलाई छ लाख रुपियाँसम्म दिन बाँकी छ । 

बैङ्क खातामा रकम नभएकाले विद्यालयका प्राचार्य दिवस शाक्यले शिक्षकलाई दिएको चेक साटिएको छैन । चार लाख ९३ हजार रुपियाँ लिन बाँकी रहेको दाबी गर्दै शिक्षक विपिनकुमार दाहालले भने, “जिल्ला प्रशासन कार्यालय, महानगरपालिका तथा प्रहरी कार्यालयसम्म निवेदन दिइसकेका छौँ । तर पनि पाउनुपर्ने रकम पाउन सकिएको छैन ।”

काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले ग्लासियरलगायतका शिक्षण संस्थाले तलब नदिएको भनेर महानगरपालिकामा उजुरी आएको बताए । तलब भत्ता नदिएको विषयमा नेपाल प्रहरीले मात्रै कारबाही गर्न सक्ने बताउँदै उनले भने, “हामीले गर्न सक्ने अन्तिम कारबाही भनेको शैक्षिक संस्था बन्द गराउनेसम्म हो । अति नै भयो भने यो निर्णय गर्न पनि पछि पर्दैनौ ।”  यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक