काठमाडौँ, १८ पौष । बलिउड वेब पोर्टल पिंकभिल्लाको एक फ्यान सर्वेक्षणमा ऋतिक रोशन र दीपिका पादुकोण स्टारर ‘फाइटर’ वर्ष २०२४ कै सबैभन्दा प्रतीक्षित फिल्म बनेको छ । सर्वेक्षणमा सहभागी फ्यानले भारतको पहिलो एरियल–एक्सन भनिएको यो फिल्मप्रति रुचि दर्शाएका छन् ।
फ्यान पोलिङमा पिंकभिल्लाले नयाँ वर्षमा रिलिज हुन लागेका ११ फिल्मबीच सर्वेक्षण चलाएको थियो । सर्वेक्षणमा ‘फाइटर’ले सबैभन्दा धेरै ४७ प्रतिशत मत प्राप्त गरेको छ । दोस्रो स्थानमा अलि अब्बास जफर निर्देशित अक्षय कुमार र टाइगर श्राफ स्टारर ‘बडे मिया छोटे मिया’ छ । सर्वेक्षणमा यो फिल्मलाई ३८ प्रतिशत मत छ । सर्वेक्षणको पुछारमा दीपिका पादुकोण, अमिताभ बच्चन, प्रभास स्टारर ‘कल्की : २९९८ एडी’ छ । फाइटरको कुरा गर्दा यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । यो फिल्म माघ ११ गते रिलिज हुँदैछ ।