शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

काठमाडौँ, ४ पौष । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ। विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गिनिज विश्व रेकर्ड कायम गरेको र संस्थाका आधिकारिक प्रतिनिधिले प्रमाणपत्र उपलब्ध गराएको भन्ने गलत सूचना राखिएको छ।

दशरथ रंगशालामा त्रिविद्वारा  आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै संख्यामा विद्यार्थी र अभिभावक उपस्थित थिए। दीक्षान्त समारोहमा ‘अफिसियल विश्व रेकर्ड (डब्लुआर)’ का आधिकारिक प्रतिनिधि पनि पुग्न नसकेको निमित्त उपकुलपति प्राध्यापक डा। शिवलाल भुसाल स्वीकार्छन्।

आधिकारिक विश्व रेकर्ड एसोसिएसन (डब्लुआर)का प्रतिनिधि प्रमाणपत्र प्रदान गर्न समारोह स्थलभित्र छिर्न नसकेपछि विश्वविद्यालयका पदाधिकारीले आफैं प्रमाणपत्र ल्याउनुपरेको तमासा पनि समारोहमा देखियो। उपकुलपति र कुलपति स्वयंले डब्लुआरको प्रमाणपत्र हातमा लिएर देखाएका थिए। ‘विश्वमै सबैभन्दा बढी विद्यार्थी दीक्षित गर्ने पहिलो विश्वविद्यालयको रूपमा विश्व रेकर्ड कायम गर्न त्रिवि सफल भएको छ,’ त्रिविको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ, ‘४९औं दीक्षान्त समारोहमै गिनिज वल्र्ड रेकर्डका प्रतिनिधि उपस्थित भई उक्त रेकर्ड दर्ता गराएका हुन्।’ जुन सरासर त्रुटिपूर्ण छ।

लाखौं विद्यार्थी पढाउने विश्वविद्यालयको वेबसाइटमा समेत अफिसियल वल्र्ड रेकर्ड संस्थाको साटो गिनिज विश्व रेकर्ड राख्ने संस्थाको नाम लेखेर गलत सूचना प्रवाह गर्नुलाई शिक्षाविद् विद्यानाथ कोइरालाले हावादारी मानेका छन्। उनले विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाले गलत सूचना प्रवाह गर्दा विद्यार्थीमा समेत नकारात्मक असर पर्ने बताए। उनले विश्वविद्यालयले बेरोजगार विद्यार्थी धेरै उत्पादन गरेर विश्वकीर्तिमान बनाउनुभन्दा सक्षम, योग्य र विश्वबजारमा गरिखाने विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने सुझाए।

‘त्रिविको ४९ दीक्षान्त होइन, शिक्षान्त समारोह हो। दीक्षाको होइन, शिक्षाको अन्त्य भएको दिन हो,’ शिक्षाविद् कोइरालाले भने, ‘बेरोजगारको भिड जम्मा गरेर विश्व कीर्तिमान कायम गर्नुभन्दा गुणस्तर वृद्धि गरी विश्वबजारमा आफूले हासिल गरेको ज्ञान, सिप र क्षमता बेचेर गरिखाने बाटो देखाइदिएको भए सही हुन्थ्यो।’ उनले थपे, ‘कुलपति, उपकुलपति, राष्ट्रपतिलगायत व्यक्तित्वले विद्यार्थीलाई शिक्षा, स्वास्थ्य, पर्यटन, मधेस, पहाड, तराईका विभिन्न क्षेत्रमा अवसर देखाइदिएर उनीहरूले हासिल गरेको ज्ञान र सिप ती क्षेत्रमा प्रयोग गरी खाने बाटो देखाउनुपथ्र्यो तर त्यसो गर्न सकेनन्। बेरोजगार विद्यार्थी देखाएर कीर्तिमानको कुनै अर्थ नै छैन।’

यसपटक विश्वविद्यालयबाट ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । जसमध्ये १२ हजार ४ सय १५ विद्यार्थी र तिनका १३ हजार ७ सय अभिभावक गरी २६ हजार एक सय १६ को उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको त्रिविका निमित्त उपकुलपति प्राध्यापक डा। भुसालले बताए। विश्व कीर्तिमान बनाउने चक्करमा दशरथ रंगशालाभित्र पूर्ण अस्तव्यस्त अवस्था देखिएको थियो। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडैँ, १३ भदाै । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १३ भदाै । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ । यसबाट उक्त जलविद्युत्

काठमाडौँ, १३ भदाै । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट