चक्रपथको डीपीआर १० महिनामा पनि सकिएन

काठमाडौँ, २४ मंसिर । विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार नहुँदा चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढ्न सकेको छैन । दुई महिनाभित्र तयार पार्ने भन्दै गत ०७९ फागुनमा थालिएको डीपीआरको काम १० महिना पुग्दा पनि सकिएको छैन । चीन सरकारको अनुदान सहायतामा चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को विस्तार गर्न लागिएको हो ।

यसअनुसार डीपीआर निर्माणको काम चीनले नै गरिरहेको छ । छिटोमा दुई र ढिलोमा ६ महिनाभित्र डीपीआर तयार पारिसक्ने नेपाल र चीन सरकारबीच मौखिक सहमति भएको थियो । अहिले डीपीआर बन्ने क्रममै रहेको सडक विभागले जनाएको छ ।

गत फागुनमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका प्राविधिक टोलीले डिजाइनको जिम्मा लिएको थियो । त्यति बेलै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई महिनाभित्र डिजाइनको काम सकिने जनाएको थियो । तर अझै डिजाइन फाइनल हुन सकेको छैन । अहिले डिजाइनको काम भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ‘हामीले डिजाइन गरेको भए कति समयभित्र सकिन्छ, थाहा हुन्थ्यो । तर चीन आफैंले डिजाइन गरिरहेकाले यसबारे थप अपडेट आएको छैन,’ उनले भने, ‘६ महिनाभित्र डिजाइनको काम सकिन्छ भनिएको छ ।’

डिजाइनमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षभित्र विस्तारको ठेक्का गरेर काम अघि बढाइने ढकालको भनाइ छ । विस्तृत डिजाइनको काम सकिनासाथ आवश्यक ठेक्का प्रक्रिया अघि बढ्छ । त्यसो त नेपाल सरकारलाई पूर्वतयारीको काम सक्नै चार वर्षभन्दा बढी लागेको थियो । अहिले कलंकीदेखि बसुन्धरासम्म सर्भिस लेनसहित नाली बनाउने काम भइरहेको छ ।

विस्तार गर्न लागिएको खण्डमा दुर्घटनाको जोखिम बढी रहेकाले त्यसलाई कम गराउने गरी डिजाइन गर्न सुझाव दिँदा केही ढिलाइ भएको मन्त्रालय स्रोतले जनायो । फाइनल डिजाइन आएपछि कति लागत लाग्ने थाहा हुन्छ । अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब यसलाई ८ लेनमा विस्तार गर्न लागिएको हो । सडक विस्तारपछि उपत्यकाको ट्राफिक जाम व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । महाराजगन्जको २ सय ४४ मिटर खण्डमा भने अझै समस्या छ । यसमा पछि काम गरिने भएकाले पछि नै समाधान गरिने मन्त्रालयले बताएको छ । चक्रपथ विस्तारअन्तर्गत नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किमि सडक नै विस्तार गर्न आग्रह गरेको थियो ।

चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको ८.२ किमि खण्डको मात्रै काम गर्ने भएको हो । बाँकी काम तेस्रो चरणको चक्रपथ विस्तारमा समेट्ने जनाइएको छ । अहिले सर्भिस लेन निर्माणका लागि बजेट नहुँदा काम प्रभावित बनेको जनाइएको छ । विस्तारको ठेक्का हुनुअघि सर्भिस लेन निर्माणको काम सक्ने भन्दै थालिएपछि बसुन्धरादेखि स्वयम्भूसम्म सडक अस्तव्यस्त छ । यो खण्डको दुवैतर्फ खनेर काम नसक्दा सडक साँघुरिएको र धूलो उडेर यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ । कलंकीदेखि स्वयम्भूसम्म काम सकिए पनि स्वयम्भूदेखि बसुन्धरासम्म बजेट पर्याप्त नहुँदा काम नसकिएको काठमाडौं चक्रपथ सडक विस्तार योजनाका प्रमुख कृष्णनाथ ओझाको भनाइ छ ।

‘कलंकीदेखि बसुन्धरासम्म ७ वटा प्याकेजमा ठेक्का गरेर काम गरिरहेका छौं । कलंकीदेखि स्वयम्भूसम्मको काम सकिइसकेको छ,’ उनले भने, ‘स्वयम्भूदेखि बसुन्धरासम्मको काम बजेट अभावमा पूरा गर्न नसकिएको हो ।’ योजना कार्यालयसँग भएको चार करोड रुपैयाँ भुक्तानी दिइसकेको उनको भनाइ छ । ‘सबै खण्डमा भएको कामको ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ,’ उनले भने, ‘पैसा नआए काम गराउन सक्ने अवस्था छैन ।’ यसबारे मन्त्रालय र विभागमा जानकारी गराइसकिएको उनले बताए । स्वयम्भूदेखि बसुन्धरासम्म चार वटा प्याकेजमा ठेक्का भए पनि राम्रोसँग काम हुन सकेको छैन ।

अहिले सबैतिरका आयोजनामा बजेटको समस्या रहेको सडक विभागका महानिर्देशक ढकालले बताए । ‘बजेटको समस्याबाट यो आयोजना पनि अछुतो छैन,’ उनले भने, ‘बजेट अभावले ठेक्का लगाएका अधिकांश आयोजनामा कसरी काम सक्ने भन्ने समस्या थपिएको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका