काठमाडौँ, १७ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौँ वरिपरीका जिल्लाको समय आएको बताएका छन् ।
आज पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘काठमाडौँ बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ ।’
‘राजधानी काठमाडौँसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो’, उनले भने, ‘त्यहाँका अगुवाहरुले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर काठमाडौँ वरिपरीकाको आम्दानीको मूल श्रोत जग्गाजमिन थियो ।’
उनले भने, ‘काठमाडौँमा राणाहरुको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिहरुले चाकरी गरेवापत पुरस्कारका रुपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौँ पुर्याउन सक्ने ठाउँको जमिन उनीहरु माग्थे । काठमाडौँसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौँ बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरु धेरै भए ।’
काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जानी गर्ने र ठूलो हिस्सा काठमाडौँ पुर्याउने काममा केन्द्रित रहेको उनले बताए ।