काठमाडौँ, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य दलबाट प्रवेश गरेका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने खतरा औंल्याएका छन् ।
महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय बैठकमा बुधबार राजनीतिक प्रतिवेदन पेश गरेका उनले रास्वपमा अन्य दलबाट प्रवेश गर्ने अधिकांश असल, निष्ठावान र इमान्दार भएपनि केही व्यक्ति भने गलत प्रवृत्तिका रहेको स्वीकार गरेका हुन् ।
गलत प्रवृत्ति बोकेर आएकाहरुले पार्टी पङ्तिलाई दबाब र प्रभावमा पार्न सक्ने उनको आशंका छ । ‘केही पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ’, रविले प्रतिवेदनमा भनेका छन् । अरु दलमा उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर रास्वपामा अवसरका लागि प्रवेश गर्नेप्रति सचेत हुन उनले पार्टीपङ्तिलाई आग्रह पनि गरेका छन् ।
‘नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरूले हामीलाई बदनाम गराउने सम्भावना पनि बढी नै हुन्छ । यसतर्फ पनि हामी बेलैमा सचेत हुनुपर्छ’, प्रतिवेदनमा भनिएको छ । पार्टीको संगठनप्रति आकर्षण रहेकाले सचेत बन्नुपर्ने रविको जोड छ । सदस्य, शुभेच्छुक बढिरहेका बेला सचेत, सजग र कठोर हुनुपर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । विसंगति भित्रन नदिन पार्टीका सबै तहमा विधि तय गरिएको लामिछानेले प्रतिवेदनमा लेखेका छन् । ‘हामीले बुझ्नुपर्छ, छान्ने भनेको माथि ल्याउन सेलेक्सन गर्ने मात्र होइन, मिल्काउन फिल्टर गर्ने पनि हो । पार्टीलाई सुदृढीकरण गर्न हामीले लिने र फाल्ने दुवै प्रक्रिया स्वार्थरहित ढंगले अबलम्बन गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।
पार्टीका विभिन्न संरचनाको नेतृत्वमा असल मान्छे ल्याउन धेरै काम गर्नुपर्ने देखिएको पनि लामिछानेले बताएका छन् ।