काठमाडौँ, १२ मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२३ को अवसरमा मानव बेचबिखन अन्त्यका लागि सञ्चालकर्मीसँगको सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन)को आयोजनामा सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा महिला हिंसा न्युनिकरणको लागि सञ्चारकर्मी तथा मिडिया हाउसले खेल्नुपर्ने भूमिकाको बारेमा सम्वाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सञ्चार माध्यममा मानव बेचबिखनसँग सम्बन्धित पाँच वर्षे सामाग्रीको तुलनात्मक विश्लेषण बारे जानकारी गराइएको थियो ।
पाँच वर्षे सामाग्रीको तुलनात्मक विश्लेषण समाचार बारे जानकारी गराउँदै सञ्चारकर्मी विजय पौडेलले नेपालमा सहज वातावरण तथा विपद्को समयमा हुने मानव बेचबिखनको सूचकहरु प्रस्तुत गर्नुभयो । सञ्चारकर्मी पौडेलले प्रस्तुत गर्नुभएको प्रस्तुतीका अनुसार उक्त विषयमा २०७४ र ०७७ सालका मानव बेचबिखन सम्बन्धी सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारहरुलाई विशेष रुपमा ध्यान दिनुपर्ने आवश्यका रहेको औंल्याएको थियो । उहाँका अनुसार ०७४ सालमा ५७२ वटा मानव बेचबिखन सम्बन्धी समाचारहरु प्रकाशित भएका थिए भने ०७७ मा २२६ वटा समाचारहरु प्रकाशित भएका थिए । त्यस्तै ०७८ सालमा ३२१ वटा सो सम्बन्धी समाचारहरु प्रकाशित भएका थिए ।
विपद्का समयमा अझ बढी महिला हिंसा तथा मानव बेचबिखन हुने गरेको औंल्याउँदै सञ्चारकर्मी पौडेलले खुल्ला सीमा, वैदेशीक रोजगारी, भिजिट भिषा, श्रम शोषण लगायतका अनेकैं प्रकारका समस्याहरु रहेको उल्लेख गर्नुभयो । बेचबिखनमा परेका महिलाको संरक्षण तथा सहकार्य अहिलेको सवैभन्दा बढी आवश्यकता रहेको उल्लेख गर्दै उहाँले संरक्षण र अभियोजनका विषयमा कम काम भएको तथा पीडितले विभिन्न बहानामा न्याय नपाउने गरेको गुनासो व्यक्त गर्नुभयो ।
अध्यक्ष तारा भण्डारीले मानव बेचबिखन सम्बधी समाचार सम्प्रेषण गर्नको लागि समेट्न नसकिएको उल्लेख गर्दै आगामी दिनमा पत्रपत्रिका, टेलिभिजन, रेडियोको साथ साथै अनलाईन सञ्चारमाध्यमलाई पनि समेट्नुपर्नेमा जोड दिनुभयो । वैदेशिक रुपमा मात्र मानव बेचविखन हुने गरेको नभई आन्तरिक रुपमा पनि विभिन्न प्रकारका बेचविखन तथा शोषणहरु हुने गरेको उल्लेख गर्दै उहाँले उक्त कुराहरुकको तथ्याङ्क संकलन गर्ने प्रयाहरु भइरहेको जानकारी गराउनुभयो । नेपालमा हुने विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरुका समयमा महिला हिंसा तथा बेचबिखन बढ्ने गरेको उल्लेख गर्दै उहाँले उक्त कुरालाई सम्बन्धीत निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एटविनका महासचिव सुमित्रा अधिकारीले स्वागत गर्नुभएको थियो भने सञ्चारकर्मी टंक पन्तले छलफल तथा अन्तरक्रियाको सहजिकरण गर्नुभएको थियो ।