साकार न्यौपाने
दुर्गा प्रसाईंको अहिलेसम्मको क्रियाकलाप र उनले दिएका बिरोधाभाष अभिव्यक्ति हेर्दा नेपालको संविधान/कानुन हातमा लिने र सोही कारणबाट उनी आफू पक्राउ पर्न चाहान्छन । उदाहरणका लागि पुरानो राष्ट्रिय गान बजाउनु, नेताहरुलाई तल्लोस्तरको भाषामा गालीगलौज गर्नु, गर्न उक्साउनु, कानुन बिपरित चन्दा उठाउनु आदि ।
यसबाट एकातिर उनी करीब ६ अरबको ऋणको सावाँ ब्याज किस्ताको तनावबाट मुक्त हुने, अर्कोतिर द्वन्द निम्त्याइदिएर जेल बस्दा राजनीतिक कैदीबन्दीको रुपमा बस्न पाइने । द्वन्दको आगो सल्किदै गयो र वार्ता हुनेभयो भने आफू केन्द्रमा रहेर सहमति हुने र त्यसको फाइदा पनि आफूलाई हुने उनको सोच देखिन्छ, उनकै अभिव्यक्तिहरुबाट अनुमान गर्न सकिन्छ । यो उनले गर्ने आन्दोलनको जड चै मेडिकल कलेज संचालनको लाइसेन्स र बैकको कर्जा नै हो । बैंकले एलओआइको आधारमा लोन दिए, धितो पर्याप्त छैन, धितो लिलाम गर्न यिनलाई कालोसूचीमा राख्नुपर्छ, त्यसैले मर्नुभन्दा बौलाहाउनु निको भनेर यिनले यो चटकी देखाउदैछन् ।
यसमा उनले कहिले नेपाल कसको स्टेट हुनुपर्छ भनेर, कहिले दुबईका राजकुमारलाई जोडेर कहिले पूर्वराजालाई जोडेर जुन अभिव्यक्ति दिइरहेका छन्, यो उनले अहिलेको उनले गर्ने भनेको आन्दोलनमा सायद कसैको प्रत्यक्ष हात छैन तर यिनले चाहेजस्तो भोलि द्वन्द बढ्दै गयो भने यी पक्षहरुले धमिलो पानीमा माछा मार्ने दूस्साहस चै गर्न सक्छन् । आम जनमानसमा भ्रम छर्न अर्थात् म शक्तिशाली छु र मेरो ब्याकअप दह्रो छ भनेर देखाउन यी दुर्गाजी नाटक मन्चन गरिरहेका छन् ।
वास्तवमा गणतन्त्र, संघीयता, समानुपातिक निर्वाचन प्रणाली, धर्म निरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख जस्ता आम सबालहरुको यथोचित जवाफ संविधानले दिन नसक्दा वा जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुको पहुँच आम नागरिकमा नपुग्दा आएको जन निरासाको क्यास गर्न दुर्गा प्रसाईंहरु तम्सिरहेका छन् । त्यसैगरी घरजग्गा कारोबार, शेयर कारोबार, साना तथा मझौला व्यवसायहरुको आर्थिक अबस्था नाजुक हुंदैगर्दा सरकारले तत्काल राहत दिन जे जस्तो प्याकेज ल्याउनुपर्थ्यो, त्यसमा सरकार पूर्ण रुपमा चुकेको छ र त्यसबाट प्रताडित व्यक्ति समुहले पनि यिनलाई उक्साइरहेको देखिन्छ । पछिल्लो समयमा भुटानी शरणार्थी प्रकरण, नागरिकता प्रकरण, ज्यानमारालाई कैद छुटको प्रकरण, विद्यार्थीलाई जथाभावी विदेश पठाएर खर्ब भन्दा बढी रकम विदेसिदा पनि एनओसीमा नियन्त्रण गर्न नसक्नु वर्तमान सरकारका अकर्मण्यताले पनि दुर्गा प्रसाईंलाई मसोला पुगेको छ ।
अहिले झट्ट हेर्दा एमाले र एमालेका नेताहरुलाई केन्द्रीत गरेर बिरोध गर्नुको कारण चै एकैपटक सबैलाई बिरोध गर्दा जन आन्दोलन गरेका पार्टीहरु एकै ठाउँमा आउन सक्ने र यो गठबन्धन तोड्न नसकिने भएकोले ठूलो र संगठन राम्रो भएको एमालेलाई पहिलो निसाना बनाएका हुन् । यसो गर्दा एमालेकै असन्तुष्ट समूह र एमाले इतरका पार्टी र नेता कार्यकर्ताको मौन समर्थन हुने उनको अपेक्षा छ । यो मिसन सफल भयो भने बिस्तारै कांग्रेस, माओवादी र मधेशवादी दल तर्फ उनको हमला गर्दै जाने उनको रणनीति देखिन्छ ।
अब यी उपलब्धिहरु प्राप्त गर्न आन्दोलन गरेका पार्टीहरु यी उपलब्धिहरुको रक्षा गर्दै समसामयिक राजनीतिक निर्णय गरी संबिधानको संशोधन तर्फ बहस केन्द्रीत गर्न ढिला गर्नुहुन्न भन्ने आम धारणा रहेको छ ।
(लेखक-काठमाडौँ स्कुल अफ ल, बिए एलएलबी अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ)






