एजेन्सी, ३० कार्तिक । भारतको जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ।
बिबिसी हिन्दीका अनुसार बुधबार किस्तवाडबाट जम्मु जाँदै गरेको बस डोडा जिल्लाको अस्सार क्षेत्रमा सडकबाट ४ मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी चालकसहित ३९ जनाको मृत्यु भएको हो । दोडा–बटोटे राष्ट्रिय राजमार्गको राजगढबाट करिब ४ किलोमिटर अगाडि बस सडकबाट चिप्लिएर पुरानो जीर्ण सडकमा खसेको हो ।
३८ सिट क्षमताको बसमा ५६ जना यात्रु सवार रहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । घुम्ति सडक र तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाएर बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइहेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई २ लाख र घाइतेलाई उपचारका लागि ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन् ।