काठमाडौँ, २५ कार्तिक । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमनमा पुगेको संसदीय समितिले राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भौगोलिक विकटता, जनशक्तिको अभाव तथा उचित व्यवस्थापनको कमीकमजोरी देखिएको र यसबाट पीडित परिवारका लागि राहत वितरणको काम अपेक्षाकृत हुन नसकेको निचोड निकालेको हो ।
समितिले प्रभावित क्षेत्रको अवस्था र तत्काल चाल्नुपर्ने कदमसहित सुझाव प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी समेत गरेको छ । समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरूलाई विना भेदभाव र पूर्वाग्रह समेत नराखी राहत वितरण गर्न आग्रह समेत गर्नुभएको छ ।
सभापति खतिवडाले कसैलाई काखा र कसैलाई पाखा नगरेर राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । चिसोको कारण प्रभावितहरूको स्वास्थ्य अवस्था बिग्रन सक्नेतर्फ पनि उहाँले सचेत गराउनुभएको छ । चिसो बढ्दै जाँदा भूकम्प पीडित थप मारमा छन् ।