नयाँ दिल्ली, १४ कार्तिक । भारतीय व्यापारी मुकेश अम्बानीलाई पछिल्ला केही दिनयता ज्यान मार्ने धम्की आइरहेको छ । पछिल्लो पटक सोमबार उनलाई ४ खर्ब रुपयाँ नदिए ज्यान मार्ने धम्कीसहितको एक इमेल आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै खालको यो तेस्रो धम्कीपूर्ण इमेल भएको समाचारमा उल्लेख छ ।
यस अघि भने उनीसँग २ अर्ब रुपयाँ मागिएको थियो । अगाडि पठाएको मेलको जवाफ नआएको भन्दै पछिल्लो मेलमा रकम बढाएर पठाइएको प्रेषकले बताएका छन् । अम्बानीका सुरक्षा सुपरभाइजरले शुरुआती इमेल लगत्तै गामदेवी प्रहरी थानामा एफआईआर लेखाएका थिए ।
शुक्रबार एक अज्ञात प्रेषकबाट २ अर्ब भारु नदिए अम्बानीको ज्यान मार्ने धम्की दिँदै मेल पठाएका आएको थियो । कम्पनीको नाममा सोमबार तेस्रो मेल आएको थियो । इमेल पठाउने व्यक्तिको खोजीलाई प्रहरीहरुले तीव्र पारेको बताइएको छ ।