काठमाडौँ, १७ असोज । पपस्टार बियोन्सेले आफ्नो बहुचर्चित ‘रेनासाँ’ सांगीतिक टुरमार्फत विश्वव्यापी ५७९ मिलियन डलर कमाउँदै अहिलेसम्म सर्वाधिक कमाउनेमध्येको कन्सर्ट बनेको छ ।
३२ पटक संगीतको सर्वोच्च अवार्ड ग्रामी जितेकी गायिकाको उक्त विश्व टुरबाट सो कमाइ भएको हलिउड सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पार्कवुड इन्टरटेनमेन्ट र लाइभ नेसन एजेन्सीको निर्माण रहेको उक्त टुरलाई ३९ सहरका ५६ ठाउँमा आयोजना गरिएको र यसमा करिब २७ लाख दर्शकको उपस्थिति रहेको जनाइएको छ ।
बिलबोर्ड बक्सस्कोरका अनुसार बियोन्सेको उक्त कमाइ अहिलेसम्म धेरै कमाउने उत्कृष्ट १० कन्सर्टको सातौं स्थानमा रहेको छ । यति मात्र होइन, उत्कृष्ट १० को सूचीमा समावेश हुने बियोन्से एक मात्र अश्वेत मूलकी गायिका र एकल प्रस्तुति दिने अमेरिकी कलाकार हुन् । यो सूचीमा यसअघि श्वेत पुरुष कलाकार मात्र थिए ।
सूचीमा ९३९.१ मिलियन डलर कमाउँदै गायक एल्टन जोन शीर्षस्थानमा छन् । उनले ३३० वटा कन्सर्टबाट उक्त कमाइ गरेको उल्लेख छ । दोस्रो स्थानमा रहेका एड सिरनलाई ७७६ मिलियन डलर कमाउन २५८ कन्सर्ट गर्नुपरेको थियो ।