काठमाडौँ, ११ असोज । अमेरिकाले शान्ति र लोकतन्त्र प्रवर्द्धनमार्फत विदेश नीतिलाई सघाउन संगीतलाई कूटनीतिको माध्यमको रुपमा प्रयोग गर्ने भएको छ ।
विदेश मन्त्रालयमा आयोजित समारोहमा विदेशमन्त्री एन्टोनी ब्लिंकनले विश्व कूटनीतिका लागि सांगीतिक पहल अभियानको घोषणा गरे ।
वृहत्तर अमेरिकी विदेश नीतिका लक्ष्यलाई हासिल गर्न संगीत कूटनीति प्रभावकारी माध्यम हुने विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । उक्त अभियानले आर्थिक उन्नति र रचनात्मक अर्थतन्त्रलाई विस्तार गर्ने, सामाजिक अवसर र समावेशीकरण सुनिश्चित गर्ने, शिक्षामा पहुँच बढाउन सांगीतिक इको–सिस्टम सिर्जना गर्न सार्वजनिक–निजी साझेदारीको लाभ उठाउने लक्ष्य राखेको छ ।
संसारभरका मान्छेसँग सम्पर्क स्थापित गर्न र पहुँच बढाउन संगीत कूटनीति महत्वपूर्ण हुने आशा अमेरिकाले लिएको छ । ‘संगीत र कूटनीतिको संयोजन गर्ने आजको रातको अवसरलाई मैले गुमाउन सकिनँ । नयाँ विश्व संगीत कूटनीतिक पहलको शुभारम्भ गर्न पाउँदा खुसी लाग्यो,’ विदेशमन्त्री ब्लिंकेनले ट्वीट गरेका छन् ।