उपेन्द्र केसी
प्रचण्ड नेतृत्वमा रहेको सरकारले पहिलो पल्ट भुटानी शरणार्थी प्रकरणको फाइल खोल्यो । सरकारको चौतर्फि प्रंशसा भयो । धेरै समयपछिपुन देशमा प्रचण्डको उनका कार्यर्ताहरुले मात्रै होइन, आममानिसले पनि वहादुरीको कथा हाल्न थाले । संसदमा उनको पार्टी तेस्रो भए पनि उनी पहिलो र दास्रो पार्टीलाई लडाउँदै तेस्रो पटक प्रधानमन्त्री भएका हुन् । पार्टी कमजोर हुँदा पनि बलियो पदमा पुग्न उनी सफल भएका हुन् ।
उनी तेस्रो पटक प्रधानमन्त्री भैइरहँदा सिंहदरवारमा तेस्रो पटक फोटो झुण्डाउन मात्रै आफू पुन प्रधानमन्त्री भएको होइन्, उनले भनिरहेका थिए । जब उनले भ्रष्टाचार प्रकरणका फाइलहरु एक–एक गरेर खोल्न थाले, तब उनले केही गर्लान कि भन्ने आमजनतालाई पनि लाग्न थाल्यो । उनको एकपछि अर्को भ्रष्टाचार विरोधी फाइल प्रकरणले सिगो देशमा ठूलै कम्पन्न ल्यायो । यस अघि उनको अर्थात प्रचण्डको विरोध गर्नेहरुले पनि सलाम ठोक्न थाले । अब चाँही साच्चै केही होला कि भनेर आममानिसले सरकार तिर आशाको आँखाले हेर्न थाले ।
मुलुक लामो समयदेखि भ्रष्टाचार र वेथितिको जड बन्दै आएको थियो । एक प्रकारले भन्ने हो भने देशमा भ्रष्टाचारको संस्थागत विकास हुँदै आएको थियो । भ्रष्टाचार, वेथिति र अनियमितता नियन्त्रण हुन नसक्दा राज्यप्रति जनताको विश्वास उठ्न थालेको थियो । कुनै पनि सरकारले भ्रष्टाचारीलाई छुदैनन भन्ने आमविश्वास थियो । तर जब प्रचण्ड नेतृत्वको सरकारले एकाएक भुटानी शरनार्थी प्रकरणको फाइल खोल्यो । र, अनुसन्धानको प्रक्रिया अघि बढायो । यसबीच सबैलाई लागेको थियो अब भ्रष्टाचारीहरुका दिनगिन्ती सुरु भयो । प्रचण्डले भ्रष्टाचार प्रकरणमा मुछिएका कसैलाई पनि छाड्ने छैनन् । यो प्रकरणमा आफ्ना र अर्को पार्टीका भनेर भेदभाव गर्दैनन् भन्ने नै लागेको थियो । त्यसमा पनि उनी आफैले यस विषयमा कसैलाई पनि नछाड्ने वोलेका थिए । तर, यस पटक पनि उनको बोली पहिले –पहिलेकै वोली झै नै रह्यो । मुखले एउटा भन्ने, व्यवहार अर्को गर्ने । पश्चिम देखाएर पूर्व हान्ने । सुरुवाती दिनमा भ्रष्टाचार प्रकरणका फाइलहरु खोल्दा स्वय प्रधानमन्त्री प्रचण्डले उत्साहित हुँदै, यो त टेलर मात्रै हो, पुरा फिल्म आृँउन त वाँकी नै छ भनेका थिए । प्रधानमन्त्रीले भ्रष्टाचारको पुरै फिल्म देखाउने खबर सुनाएर उनले आमजनतालाई उत्साहित पारेका थिए । उनले देखाएका फिल्म हेर्ने आशले जनता प्रचण्डकी जय भन्न थालेका थिए ।
यसबीच वागमतीमा पानी मात्रै बगेन, पानीसंगै आमजनताको प्रचण्ड प्रतिको आशा पनि बग्यो । भ्रष्टाचारको भेलले जब उनकै पार्टीका नेताका परिवारलाई नै बगाउन थाल्यो । त्यसपछि उनी देखेको नदेखै भए । हिजो उत्तेजित हुँदै उनले देखाउँछु भनेका फिल्मका पात्रमा जब उनकै पार्टीका नेताहरु परे, तब उनी टेलरमा मात्रै सिमित रहे । तब यीनको वोल्ती नै बन्द भयो । यीनले र यीनका गृहमन्त्री नाराणणकाजीले भन्दै आएको सुशासन प्रचण्डको राजमा एकदेशको कथा जस्तो भयो । आफ्नो राज्य सत्ता सुरक्षित गर्ने नियोजित उद्देश्यका साथ यीनले अर्थात प्रचण्डले भ्रष्टाचारको डण्डा चलाएको देखियो । अरु पर्दा दुलोभित्र हात आफ्ना पर्दा दुलो वाहिर हात । त्यति मात्रै होइन, उनी र उनले जोगाउन चाहेका मान्छे कानून भन्दा माथि रहेको व्यवहारमा हेरियो देखियो ।
त्यसोत अहिले पनि प्रचण्डले अनुसन्धानका क्रममा जो कोही आए पनि नछाड्न आफूले वताउँदै आएको वताइरहेका छन् । उनको यो कुरामा विश्वास गर्ने केही आधारहरु भने देखिदैनन् । भ्रष्टाचार र सुशासनको विषयमा उनले वोल्दै आएका सबै कुराहरु अहिले आएर हावासरी हलुका भएका छन् । संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सरासर झुठा कुरा वोल्दा अलिकति पनि लाज मानेर धकाएको देखिएन । उनले प्रश्नको जवाफ फर्काउने क्रममा दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भनेर आफूले भनेको भने । तर, उनले जे भने त्यो सुन्ने सांसदहरु बरु लाजले गले । उनले संसदमा थपे– अनुसन्धानका क्रममा प्रधानमन्त्रीकै नाम नै आउँछ भने छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा भन्न भने छोडेनन् । उनले संसदमा जतिसुकै सुशासनका कुरा गरे पनि उनको सुशासन आज आएरु एकदेशको कथा जस्तै भयो । अरुलाई पर्दा भ्रष्टाचारका ऐन–नियम सक्रिय हुने । अनुसन्धानको प्रक्रिया पनि हावाको वेगमा झै अघि बढाउने । प्रधानमन्त्री र गृहमन्त्री आफ्नो पार्टीका नेताहरुको परिवार सहितको नाम जोडिएर मिडियामा आउँदा किन कतै देखिएनन ? उनको पार्टी माओवादी केन्द्रका नेताहरुको सुन प्रकरणमा नाम जोडिएर आउँदा किन उनी नियन्त्रित राज्यको निकायले उनीहरु विरुद्धको अनुसन्धानको प्रक्रिया अघि बढाएन ? के माओवादीको नेतृत्वमा सरकार भएकै कारण माओवादी नेताहरुको नाम जोडिएको प्रकरणको अनुसन्धानको प्रक्रिया अघि नबढेको हो ? के प्रचण्डको माओवादी राजमा माओवादी वेगर जनताले मात्रै कानून मान्नु पर्ने र उनीहरुलाई मात्रै लाग्ने हो ? पछिल्लो समय प्रचण्डले भ्रष्टाचारको प्रकरणलाई राज्य सत्ता टिकाउने हतियारको रुपमा मात्रै प्रयोग गर्दै आएको देखिएको छ । सत्ता गठबन्धन र विपक्षी दलका नेताहरु सबेलाई आफू अनकुल साइजमा राख्न मात्रै भ्रष्टाचारका फाइलहरु छानिछानि उनले खोलेको भन्ने आरोप उनलाई लाग्न थालेको छ । यो आरोप अरुले होइन, उनलाई यतिखेर सत्तागठबन्धनकै नेताहरुले लगाउन थालेका छन् ।






