पाथीभरा माता वास्तवमा को हुन् र यो शक्तिपीठको उत्पत्ति कसरी भयो ?

तेज बहादुर ढकाल

पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित पाथिभरा माता संसार कै शक्तिशाली शक्तिपीठ मानिन्छिन् । वर्षेनी लाखौंका संख्यामा श्रद्दालु भक्तजनहरुले पाथीभरा माताको दर्शन तथा पूजा अर्चना गरि पुण्य लाभ गरिरहेका छन् ।

पाथिभरा देवीको उत्पत्ति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन् । परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथिभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भई आफ्नो उपस्थिति र आकृतिको बोध गराउँदै भेडा बलिसहित पूजा अर्चना गर्न निर्देशन दिनुभयो ।

गोठालाहरूले पनि देवीको आकृति उत्पन्न भएको स्थलमा भक्तिभाव पूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए । आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलि स्थलमा झर्नै नपाई हावामै हराउन पुग्यो । साथै ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । अहले पनि पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको वा सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पथ्र्यो तर त्यसो हुँदैन ।

वास्तवमा पाथिभरा माता को हुन, कसरी यस्तो शक्तिशाली भईन, यो ठाउँ कसरी शक्तिपीठ भयो, किन पाथीभरा मातालाई बलि चडाउने गरिन्छ र कसरी रगतको आहाल नबनी हावा मै उडेर जान्छ त जस्ता अनगिन्ती प्रश्नहरु अझसम्म अनुत्तरित नै छन् । जसको अध्ययन अनुसन्धान गरि शास्त्रीय ब्याख्या गर्नु अति आवश्यक छ । यसै सन्दर्भमा हामीले विभिन्न बेद, पुराण र महाताब्यको अध्ययन गर्नु जरुरी छ । जनश्रुती र शास्त्रीय व्याख्यामा एकरुपता नहुन पनि सक्दछ । सबैले आफ्नो आस्था र परम्परा अनुसार नै धर्म संस्कृतिको पालना गरिदै आएको छ ।

हाम्रो भूगोल भनेको शिव र शक्तिको बासस्थान भएकाले हिमालय पर्वत्य क्षेत्रको यो भूगोलमा हामीले शिवपुराणलाई नै पहिलो आधार मान्नु पर्ने हुन्छ । त्यस पछिमात्र स्कन्ध पूराण, देवी माहाताव्य, महाभारत, रामायण, श्री स्वस्थानी ब्रतकथालगायतका शास्त्रहरुको अध्ययन गरि तिनीहरुको वर्णानुक्रम र हाम्रो भुगोल र जनश्रुतीका आधारमा बर्णन गर्नुपर्ने हुन्छ । रामायणका मत्वपूर्ण पात्र मध्येका कुम्भकर्णको नाम र आकृतिकै कुम्भकर्ण हिमालको आसपासका हामीले पहिला रामायणलाई नै गहन अध्ययन गरि आधार निर्माण गर्नु सान्दर्भिक हन्छ । बजारमा रामायण पनि विभिन्न खाले पाईन्छन । रामण पनि एउटा मात्र थिएनन । लंकापति दशानन रामणका दाजु सय शिर भएका अर्का शतानन रामण थिए । तिनै लोकलाई अफ्नो मुट्ठीमा राखि बसेका ति अति नै शक्तिशाली र अद्भुत रामण हिमालय पर्वत मै बस्दथे । यसको बृष्तृत वर्णन अद्भुत रामायणमा गरिएको छ ।

अद्भुत रामण वा शतानन भनेका दशानन रामण भन्दा धेरै गुणा शक्तिशाली थियो । उ अमर जस्तै थियो । महिला बाहेक पुरुषका हातबाट उसको मृत्यु हुदैनथ्यो । उसलाई कसैले पनि युद्धमा पराजय गर्न सक्दैनथे । रक्तबीजको जस्तै जति थोपा रगत भुईमा खस्यो त्यति नै नयाँ उही शरिर र शक्ति भएका नयाँ योद्धा प्रकट भई युद्ध गर्न सक्दथे ।

रावणले सीताको हरण गरिसकेपछि राम र रामणको घनघोर युद्ध भयो । रामले रामणको हत्या गरि लंका उपर विजय हासिल गरे । त्यो खबर उनका दाजु शताननले थाह पाए । लगत्तै उनले आकाशबाट बाणको वर्षा गरे । उनीसँग रामका शेना एक छिन् पनि टिक्न सकेनन् । राम लक्षण मुक्र्षित भए भने हनुमान बाहेक अरु शेनापति लगायत सम्पूर्ण सेनाहरुको हताहति भयो । यो खबर लिएर हनुमान सीतामाता समक्ष पुग्दछन् ।

यो दुःखद् खबर सुनेर सीतामाता ज्यादै नराम्रोसँग रिसाउनु हुन्छ र कालीको रुप धारण गर्नु हुन्छ । महालक्ष्मी, महासरस्वती र महाकालीलगायत सम्पूर्ण देवि र संसारका सम्पूर्ण मातृशक्तिहरूलाई आव्हान गर्नुहुन्छ । सबै मातृशक्तिहरु आ-आफ्ना हतियार र शक्ति लिएर काली मै समाहित हुनु हुन्छ । संसार नै डगमगाउने महाशक्तिरुपिणी देवि शतानन रामणसंग युद्ध गर्न रणभूमीमा पुग्नु हुन्छ ।

देवीको हुंकारले मात्र पनि तीनै लोक डगमगाएर त्राहीमाम हुन्छ । सबै देवताहरु युद्ध मैदानको आकाशमा गई निहाल्न थाल्छन् । ब्रम्हा, बिष्णु महेश्वर पनि सावधानीपूर्वक युद्धलाई निहालिरहेका हुन्छन् । सुरुमा एउटा महिला एक्लै मैदानमा देख्दा शतानन खित्का छाडेर हास्दछ । एउटा महिलाले उसको सामना गर्न सक्छिन भन्ने कुरा उसले कल्पनासम्म पनि गरेको हुँदैन ।

यसै बिच काली र दानवबीच धमासान युद्ध हुन्छ । उसले हानेका सबै निशाना र हतियारलाई देवीले निस्तेज बनाईदिन्छिन । यो युद्धले पुरै संसार डगमगाएर त्राहीमाम हुन्छ । दानवले बिचमा मायावी शक्तिको पनि प्रयोग गर्दथ्यो भने उसले उसका सयौ प्रतिरुपलाई देवीसँग युद्ध गर्न पठाउदथ्यो । यसरी महादेविले सबै प्रतिरुपहरुको खड्गले छेदन गर्दै रगत भुईमा झर्न नदिई हावाबाट सिधै निलेर संहार गर्नु भएको कुरा अद्भूत रामायणमा पढ्न पाइन्छ ।

यसरी शतानन् रामणको मृत्यु भैसकेपछि माता कालीको रिस शान्त हुदैन । उनी हिमालय पर्वतमा हुंकार गर्दै पहाडका चुचुरा र थुम्का थुम्कामा टेकेर हिड्नु हुन्छ । यसले संसार नै डगमगाएर प्रलय होला की जस्तो हुन्छ । पृथ्वी र अन्य ग्रहहरु पनि आफ्नो बाटो बिराउन थाल्छन् । तिनीहरु एक अर्कामा ठोकिएलान् कि भन्ने त्राहिमाम हुन्छ । सारा सृष्टी नै प्रलय होला की जस्तो हुन्छ ।

यसै बिच त्रिदेवलगयत सम्पूर्ण देवताहरुको बृहद सभा बसि परामर्श हुन्छ । पहिला रक्त बीजको मृत्यु पश्चात पनि यस्तै हाहाकार भएको थियो । त्यस बेला पनि शिवको आराधाना गरि शिवजी भुईमा सुति दिनु भएको र त्यसमा देवीले थाहा नपाई आफ्नो पाउ राखे पछि देवीको रिस क्रमशः शान्त हुँदै गएको बारे चर्चा तथा परामर्श हुन्छ । त्यस पछि सबैले शिवको आराधाना गर पछि शिवजी डाँडामा आई शवासनमा सुतिदिनु हुन्छ र माता कालीले उहाँका छातिमा पाउ राख्न साथ क्रमश: रिस शान्त हुँदै जान्छ । संसार क्रमशः आफ्नो लयमा फर्किन्छ । सबैले देवीको जय जयकार र स्थुति गर्दछन् ।

यस सम्बन्धमा अद्धूत रामायणमा यसरी बर्णन गरिएको छः

वालक्यापादमिन्यासे सबरूपधरोहर ।आत्मानं स्तंभयामास धरणिधृतिहेतवे ।।
सर्वभारसहोदेव सीतापादतलेस्थित। शवरूप विरूपाक्ष स्थिताभूतधराचरा ।।

– अद्धूत रामायण, त्रयोविंसति सर्ग (६९/७०) स्लोक

त्यसपछि माताकाली युद्ध मैदनमा फर्किनु हुन्छ । यसै बिच हुमानको ठूलो अनुनय र विनयपछि भगवान् रामको होस् आउँछ । माता कालीले भगवान रामलाई दर्शन दिनु भई बरदान माग भन्नु हुन्छ । भगवान रामले पनि युद्धमा मरेका सबै योद्धा बाचुन र सितामाताले संधै उहाँको हृदयमा बास गरुन् भनि वरदान माग्नु हुन्छ । माताले तथास्तु भनि बरदान दिनु हुन्छ । माता काली त्यस पछि सबै देवीहरुको रुप र शक्ति फिर्ता गरि आफ्नो वास्तिक स्वरुपमा फर्किनु भयो । त्यसपछि राम, सीता, लक्ष्मण र अरु सेनासहित अयोध्यामा फर्किनु हुन्छ ।

माता कालीको रिस शान्त भएको ठाउँ भनेको नै अहिले पाथिभरा माता बिराजमान भएको स्थान हो । भगवान् शिवजी सभापोखरी क्षेत्रमा शवासनमा सुत्नु भएको देखिन्छ । देवीले एउटा पाउ अहिले पाथिभरा माता भएको स्थानमा र अर्को पाउ पारीको डाँडामा सुत्नु भएका शिवजीको छातीमा राख्नु भएको अनुमान लगाउन सकिन्छ । यसरी शिवजीको छातिमा पाउ राखी सके पछि संसारका सम्पूर्ण देवी तथा मातृशक्तिहरुको शक्ति अहिले पाथीभरा माता बिराजमान भएको स्थानमा कन्द्रीत भएर शान्त भई विश्व कै सबैभन्दा शक्तिशाली शक्तिपीठको उत्पत्ति भएको कुरा शास्त्रमा उल्लेख गरिएको छ । हामीले पाथीभराबाट हेर्दा सुत्नुभएका शिवजी र उहाँका छातिमा देवीको पाउ स्वरुपको सभापोखरीको आकृति देखिन्छ ।

साथै माथि उल्लेखित तथ्यका आधारमा सहस्र शीर्स रावणलाई मार्न सीताले धारण गरेको स्वरूप शान्त भएको वा शक्ति सन्चिति भएको स्थान पाथिभरा र कालीलाई शान्त गर्न शिवजी सुतेको शवरूप शिवस्थान नै शव पोखरी, शिव पोखरी वा सभापोखरी हो । पाथिभरा देवीको दर्शन गरिसके पछि एक पटक सभापोखरीमा गई स्नान गर्न सकेमा पूर्ण पून्यलाभ हुने देखिन्छ । सभा पोखरीलाई विभिन्न शंकटकालमा स्वर्गबाट खेदिएका देवताहरुको सभा गर्ने स्थान भनेर पनि चिनिन्छ । यसबारे थप शास्त्रीय अध्ययन तथा अनुसन्धान गर्नु जरुरी छ ।

श्री पाथिभरा माताले हामी सबैको रक्षा गरुन् ।

लेखक: तेज बहादुर ढकाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार । आज सेयर बजार १.४६ अंक घटेको छ । नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ ।

काठमाडौँ, ८ असार ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौँमा