सिङ्गापुरमा लागू औषध अभियोगमा १ सय ३० जना पक्राउ

सिङ्गापुर, ९ भदौ । सिङ्गापुरका अधिकारीहरूले  लागू औषध बोकेको अभियोगमा एक सय ३० जनालाई पक्राउ गरेका छन् ।  केन्द्रीय लागू औषध नियन्त्रण विभाग (सिएनबी) ले आज एक विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी खोजतलासको कारवाहीमा एक सय तीस ३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो । 

सिएनबीले दुई साता लामो कारवाहीका क्रममा करिब एक हजार तीन सय १८ ग्राम हेरोइन, दुई हजार पाँच सय ३५ ग्राम गाँजा, चार सय ८६ ग्राम ‘आइस’ र एक सय ८८ ग्राम केटामाइनलगायत लागूऔषध बरामद गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिबन्धित लागू औषध राखेको अभियोगमा पक्राउ परेकामध्येमा एक जना १५ वर्षकी किशोरी र १७ वर्षका किशोरसमेत छन् । सिएनबीले  पक्राउ परेका सबै संदिग्धमाथि अनुसन्धान जारी रहेको जनाएको छ । 

सिङ्गापुर लागू औषध तस्करी गर्नेलाई मृत्युदण्डको कठोर सजाय दिने मुलुकमध्येको एक हो । उसले मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको छ । हालै पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका एक पुरुष र तीस ग्राम हेरोइन बोकेको आरोपमा दोषी ठहर गर्दै एक महिलालाई मृत्युदण्ड दिएको थियो । सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिएको हो । बीस वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो । 

सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टी इन्टरनेश्नललगायत मानवअधिकारवादी सङ्घसंस्थाले गर्दै आएका छन् ।  विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रक्ष्यमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको उनीहरूले बताएका छन् । रासस
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी

ललितपुर, १७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम

काठमाडौँ, १७ जेठ । अर्थतन्त्रले नयाँ पुस्ता अनुकूलको आर्थिक सुधार माग गरेको बताउँदै मंगलबार बजेट ल्याएका अर्थमन्त्री वर्षमान पुनले ‘नयाँ