बाढीग्रस्त कागबेनीमा पठनपाठन बन्द

मुस्ताङ, १ भदौ । बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ।

गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो। कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्‍याएको थियो।

जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार  बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको जानकारी दिए। ‘भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ। बाटो पनि हिलाम्मे छ,’ उनले भने, ‘आवासीयरूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विद्युत्, खाद्यान्न र आवासको व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन।’

बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन भत्काएको छ। दुई सय जना विद्यार्थी रहेको जनशान्ति माविको छात्राबासमा एक सय ४० जनाले आवासीय सुविधा लिएका छन्। कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामान उत्खनन गर्ने र बाढीले पूरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए।

‘नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र छिमेकी गाउँबाट आएका सर्वसाधारणले बालुवा पन्छाउने काम गरिरहेका छन्,’ उनले भने, ‘खानेपानी र विद्युत् आपूर्ति गराउने काम भइरहेको छ।’ बाढीबाट विस्थापितलाई गाउँपालिकाको प्रशासकीय, सामुदायिक र जोमसोमको सामुदायिक भवनमा राखिएको छ। बाढीले पुल र सडक बगाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत थालिएको छ।

‘मुस्ताङको उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्त हुँदा यातायात अवरुद्ध भएका छन्। जोमसोम–कोरोला सडक कम्तीमा तीन ठाउँ यातायात अवरुद्ध छ । तल्लो मुस्ताङको लेते–जोमसोम खण्डको पनि मार्फाखोलामा समय–समयमा यातायात अवरुद्ध हुने गरेको छ,’ बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत् प्रजापतिले भने, ‘तल्लो खण्डको पहिरो हटाएपछि उपल्लो खण्डमा काम सुरु गरेका छौ।’ रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने