काठमाडौँ, १० साउन । दक्षिण एशियाली खेलकुद (साग) की चार स्वर्ण पदकधारी पौडी खेलाडी गौरिका सिंहले जापानको फुकुओकामा जारी ‘२०औँ वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छन् । गौरिकाले आफ्नै नाममा रहेको पुरानो समयमा सुधार ल्याउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
हाल फुकुओकामा रहेका नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार, गौरिकाले बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोक स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिकाले सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा आयोजना भएको १२ औं सागमा आफैले राखेको ३१.८७ सेकेन्डको समयमा सुधार ल्याएकी हुन् । फुकुओकामा बुधबार उनले निर्धारित दूरी ३१.४४ सेकेन्डमा पार गरिन् ।




