काठमाडौँ, २३ असार । पूर्वाञ्चल विश्वविद्यालयले सिभिल इन्जिनियरिङमा अनिवार्य इन्टर्नसिपको व्यवस्था गरेको छ ।
स्नातक तहको खासगरी सिभिल कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरी अबको १० बर्षमा चाहिने जनशक्तिको प्रक्षेपण गर्दै अनिवार्य इण्टर्नसिपको व्यवस्था गरेको छ भने डिमाण्ड साइडको समेत पाठ्यक्रम परिमार्जनमा सहभागिता गराइएकोले विद्यार्थीहरुलाई अध्ययन पश्चात् बेरोजगार बस्नु नपरोस भनी सूनिश्चितताको लागि मार्गदर्शन गरेको छ । विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि स्नातकोत्तर तहमा यसै वर्षदेखि शुरु गरेको एमएस्सी इन कन्ष्ट्रक्सन मेनेजमेण्ट र एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङका कार्यक्रमहरुको अध्ययन अध्यापन गर्ने गराउने कार्यको शुरुआत गरी प्राज्ञिक क्षेत्रमा अर्को महत्त्वपूर्ण फड्को मारेको छ ।
नेपाललाई समृद्वि बनाउनको लागि इन्जिनियरिङ मार्फत विकास, निर्माणमा योगदान पुर्याउने उद्वेश्यले पूर्वान्चल विश्वविद्यालयले स्नातक तहमा ईन्जिनियरिङ संकाय अन्तर्गत सिभिल, इलेक्ट्रीकल, बायो मेडिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर लगायतका कार्यक्रमहरुको पाठ्यक्रम विकास गरी पठनपाठन गराउँदै दक्ष जनशक्ति उत्पादन गरी स्वदेशको माग पूर्ति गर्दै विदेशमा गएर समेत अव्वल दर्जामा काम गरिरहेको अबस्था छ ।
खासगरी नेपाल जस्तो विकाशसील मुलुकमा निर्माणको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्वेश्यले विश्वविद्यालयले आफ्नो आंगिक कलेज र सम्बन्धन प्राप्त हिलसाइड कलेज अफ इन्जिनियरिङ, काठमाडौँबाट प्रत्येक कार्यक्रमको लागि २०/२० जनाको सिट कोटा तोकी यसै शैक्षिक सत्र देखि पठनपाठन शुरु गर्न लागेको र इन्जिनियरिङ काउन्सिलबाट समेत सोही अनुसारको मान्यता दिइसकेकोले ती नयाँ कार्यक्रमहरुको पाठ्यक्रम निर्माण गर्न गठित विभिन्न समितिले तयार पारेको पाठ्यक्रमको बारेमा छलफल गरी अन्तिम रुप दिन तथा एम इ इन अर्थक्वेक इन्जिनियरिङको करिकुलम डेभलपमेन्टको लागि आजदेखि भक्तपुर सूर्यविनायकको घ्याम्पेडाडा होटलमा ‘करिकुलम डेभलपमेन्ट वर्कसप अफ माष्टर लेभल’ कार्यक्रमको आयोजना गरेको छ ।
यसमा पाठ्यक्रम डेभ्लोपरहरु, कमेण्टरहरु र डिमाण्ड साइडबाट समेत नेपाल बिद्युत प्राधिकरण, नागरिक उड्ययन प्राधिकरण, नेपाल कन्ष्ट्रक्सन एसोसियसन, नेपाल उद्योग परिसंघ लगायत महत्त्वपूर्ण संघरसंस्थाहरुको समेत प्रतिनिधित्व रहेको छ । यस कार्यक्रमको उद्वघाटन गर्दै पूर्वान्चल विश्वविद्यालयका कुलपति तथा यश कार्यक्रमका विशेष अतिथि डा. सूर्यराज आचार्य, सूर्यविनायक नगरपालिकाका उपमेयर सरिता भट्टराई, नेपाल एकाडेमिक साइन्स एण्ड टेक्नोलोजी (नाष्ट)का पूर्व उपकुलपति डा. सुनिल बाबु श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्माण बिज्ञ वीरेन्द्र पाण्डे, पूर्वान्चल विश्वविद्यालयका प्रा. डा. संजेश कोईरालाले युनिभर्सिटी तथा औद्योगिक लिंकेजको लागि उपयोगी कोर्ष बन्न लागेकोमा हर्ष व्यक्त गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रतिष्पर्धामा उत्रिन सक्ने दक्ष जनशक्ति उत्पादनमा यो पाठ्यक्रम कोसेढुंगा साबित होस भन्दै कार्यक्रम सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथि प्रा. डा. यादव राज कोइरालाले अहिले पूर्वान्चल विश्वविद्यालयले विज्ञ मित्रहरुले मुलुकको समृद्वीको लागी यी नयाँ विषयका पाठ्यक्रमहरु मार्फत उत्पादन हुने जनशक्तिले सार्थकता दिनेछ भन्ने विश्वास लिएको जनाउनुभयो । कार्यक्रमको अध्यक्षता पूर्वान्चल विश्वविद्यालय, इन्जिनियरिङ्का डीन प्रोफेसर देबी प्रसाद भट्टराईले गर्नुभएको थियो । उद्वघाटन सत्र पछि आज र भोलि दुई दिन संचालन हुने यो कार्यशाला गोष्ठीको संचालन डीन कार्यालयका अधिकृत राजकुमार सापकोटाले गर्नुभएको थियो । टेक्निकल सेसनमा एमएस्सी इन कन्सट्रक्सन मेनेजमेण्ट, एमएस्सी इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ, अर्थक्वेक मेनेजमेण्टका पाठ्यक्रमको लागि विभिन्न क्षेत्रका ६० जना भन्दा बढी बिज्ञर विशेषज्ञहरुबाट छलफल गरी विस्तृत पाठ्यक्रम सिफारिस गरी महत्त्वपूर्ण शैक्षिक फड्को मारेको छ ।







