राष्ट्रिय युवा संघको ‘नीति तथा कुटनीति’: सरकारसँगको दृष्टिकोण

राष्ट्रिय युवा संघ नेपालको ‘आवश्यकता र भूमिका’

राजनीति भनेको ‘राज्य, सरकार र जनताबीचको अध्ययन गर्ने शास्त्र हो ।’ जसले एउटा विज्ञानको रुपमा काम गर्छ, आन्दोलन र उपलब्धीको रक्षा गर्छ, समाज परिवर्तन र रुपान्तरणको नेतृत्व गर्छ । राजनीतिले जनताको प्रत्यक्ष सरोकारलाई राज्य र सरकारसँग पुल बनेर अगाडी बढ्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा डटेर सामना गर्छ । समाजवाद उन्मुख नेपाललाई कम्युनिष्ट पार्टीको दृष्टिकोण अनुसारको नागरिकले अनुभुत गर्न सक्ने समाजवादको स्थापना अबको कार्यदिशा हो । पुँजीवादको अन्त्य गर्दै सामन्तवादको अवशेषलाई समाप्त पारी नेपाललाई विश्व सामु अनुसन्धानको केन्द्र बनाउनु सकिन्छ । उक्त कुरा बौद्धिक, शिक्षित तथा दक्ष युवाको काँधमा छ । त्यो नै युवाको अबको मुख्य राजनीतिक केन्द्र बन्नुपर्छ, सम्भावनाको खोज र अनुसन्धान गर्नुपर्छ ।

‘राजनीति पेसा हैन, सेवा हो’ भन्ने भावनाको विकास गरी नेकपा एमालेले लिएको ‘समृद्ध नेपाल : सुखी नेपाली’को अभियानलाई लक्षित विन्दुमा पुर्याउन आगामी दिनमा एमालेमा मात्र हैन, सम्पूर्ण पार्टी तथा जनवर्गीय संगठनहरुमा युवाले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने छ । अनुभवि नेताहरुको साथ र सहयोग नै युवाको मार्गदर्शन हो । उत्पादन र रोजगार नै अबको समाजवादी यात्रा हो । युवाले आफ्नो योग्यता, क्षमता र दक्षतालाई मुलुक बनाउने मिसन र भिजनमा दृढताका साथ रुपान्तरण गर्नुपर्छ । नविनतम् प्रविधिको प्रयोग गर्दै युवाहरुलाई पर्यटन, उत्पादन, रोजगार, शिक्षा, स्वास्थ्य, उद्योग, कलकारखाना तथा भौतिक विकासमा जोड्नुपर्छ । नेपालमा आर्थिक क्रान्ति लागि युवाहरुको सहभागिता र नेतृत्व अपरिहार्य रहेको छ । युवा नेपालको राजनीतिक परिर्वनको सम्बाहक त हुन नै । त्यती मात्र हैन, युवालाई मुलुकको आर्थिक समृद्धिमा जोड्नुपर्छ । नविनता, सिर्जनशीलता, गतिशीलताको साथमा युवाहरुमा सैद्धान्तिक, व्यवहारिक र लगनशिलतामा जोड दिनुपर्ने आवश्यकता रहेको छ । युवाले सीप, क्षमता, दक्षता अभिवृद्धि गर्नुपर्छ ।

राजनीतिका सैद्धान्तिक रुपहरुको आधारभुत कुराहरु नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्छ, हुनुपर्छ । जसले गर्दा नयाँ पुस्ताका युवाहरुले राज्य सञ्चालन र समृद्धिको नयाँ आधार बनाउन सकुन, भिजन र दृष्टिकोण दिर्घकालसम्म प्रभाव पार्ने र जनप्रीय बन्न सफल हुन् । राष्ट्रिय युवा संघ नेपालमा आबद्ध भएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले सैद्धान्तिक रुपमा माक्र्सवाद (वर्ग संघर्ष र द्वन्द्वात्मक भौतिकवाद), लेनीनवाद, समाजवाद, साम्यवाद, पुँजीवाद, साम्राज्यवाद, माओवाद, नवउदारवाद, उपनिवेशवाद, आदर्शवाद (उग्र र उद्धार), जनताको बहुदलीय जनवाद, जनवादी केन्द्रीयता, आर्थिक क्रान्ति, राज्यको उत्पति र राज्यको उत्पतिमा पार्टीको दृष्टिकोण (विचारधारा), संघीय लोकतान्त्रीक व्यवस्था, धर्मनिरपेक्षता, शक्ति पृथकीकरणलगायतका कम्युनिष्ट कार्यकर्ताले बुझ्नै पर्ने न्युनतम् सिद्धान्तहरुको बारेमा जानकार हुनैपर्छ । उक्त विचारधाराहरुको न्युनतम ज्ञान भएमा मात्र अन्तरपार्टीबीचको भिन्नता र एमालेमा नै किन लाग्नुपर्ने ? भन्ने बारेमा विस्तृतमा विश्लेषण गर्न सकिन्छ । संघका नेता तथा कार्यकर्ताले त्यसमा पनि नेपालमा विभिन्न कम्युनिष्ट पार्टीहरु छरपस्ट अवस्थामा रहेकाले एमाले र ति छरपस्ट अवस्थामा रहेको पार्टीहरु बिचको फरक सैद्धान्तिक रुपमा छुट्याउन सक्नुपर्छ, जनतालाई बुझाउन सक्नुपर्छ । नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालमा नै किन लाग्नुपर्ने ? भन्ने प्रश्नको सैद्धान्तिक र विगतको इतिहाससहित व्यवहारिक रुपमा जवाफ दिन सक्नुपर्छ ।

राष्ट्रिय युवा संघको आगामी ‘नीति तथा कुटनीति’

‘नीति’ भनेको सैद्धान्तिक र लिपिवद्ध भएका कुराहरु हुन भने ‘कुटनीति’ भनेको सैद्धान्तिक र लिपिवद्ध कुराहरुको व्यवहारिक रुप हो । नीति आम जनताले पढ्न पाउनेछन् भने कुटनीति प्रयोगमा ल्याइन्छ । झट्ट सुन्दा समाजवादी ‘नीति र कुटनीति’ एक अर्काका परिपुरक जस्तै भएता पनि कतिपय अवस्थामा भने नीति एकातिर भएता पनि मुलुकको र संगठनको हितको लागि कुटनीति फरक पर्न सक्छ । उक्त कुरा आम जनताले तत्कालै जानकारी नपाउन पनि सक्छन् । जसको प्रत्यक्ष प्रभाव भविष्यमा देखिने हुन्छन् । समाजवादी लक्ष्य प्राप्त गर्न जनताको बहुदलीय जनवाद अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको परराष्ट्र नीति र कुटनीतिको अझ बढी विस्तार आवश्यकता रहेको छ । नीति राष्ट्रिय स्वार्थ (संगठनको) र स्वदेशी तथा विदेशी युवालाई ध्यान दिइन्छ । परराष्ट्र नीतिमा शक्ति, सक्षमता र प्रभावको विश्लेषण गरिन्छ । कुटनीतिमा प्रकृति र विशेषतालाई ध्यान दिइन्छ । उक्त कुराहरुलाई ध्यान दिई संघले आफ्नो नीति तथा कुटनीति बनाउनेछ । जुन आगामी दिनमा नेपालको परराष्ट्र नीति र कुटनीतिको रुपमा स्थापित गराउनु आगामी राष्ट्रिय युवा संघ नेपालको वर्तमान नेतृत्वको कार्यभार हो ।

‘आवाज विहिनहरुको आवाज’को रुपमा संघले आफ्नो गतिविधिहरु अगाडी बढाउने छ । संघको आगामी नेतृत्वले रोजगारीको लागि युवा विदेश पलायन हैन, स्वदेशमा नै राजेगारीको वातावरण बनाउनुपर्ने छ । उच्च शिक्षा अध्ययन गर्न विदेश जाने हैन, नेपालको शैक्षिक गुणस्तर वृद्धि गरी ठूलो धनराशी रोक्ने संघको नीति आवश्यक छ । युवालाई सीप, क्षमता, दक्षता अभिवृद्धि तथा युवालाई नविनता, सिर्जनसिलता र गतिशिलता बनाउने महत्वपूर्ण अभिभाराको नेतृत्व राष्ट्रिय युवा संघको काँधमा रहेको छ । युवालाई उत्पादन र रोजगारसँग जोड्ने योजनाहरु बनाउँदै देशभित्र नै उत्पादनको बजार विस्तार, आयातलाई निरुत्साहित, निर्यातलाई प्रोत्साहन गर्दै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न विभिन्न प्रकारका उद्योग, कलकारखाना, पर्यटन, आधुनिक कृषि, स्वास्थ्य, शिक्षा, धर्म संस्कृति, कला, मनोरञ्जनलगायतका क्षेत्रको समयसापेक्ष आधुनिक रुपमा विकास र विस्तार गर्ने अभियान सुरु गर्नुपर्ने छ । त्यस्तै उत्पादनमूलक क्षेत्रमा सुरक्षित लगानीको वातावरण बनाउने र त्यसको सुरक्षाको ग्यारेन्टी गरी ‘रोजगारमैत्री नेपाल’ निर्माणका साथै युवा विदेश पलायन रोक्नुपर्छ ।

नेपालमा नै रोजगारीको वातावरण सिर्जना गरी विदेशी युवाहरुलाई समेत नेपालमा रोजगारीको लागि आउने वातावरणको आधार बनाउनु पर्नेछ । विदेशमा सिकेको सीप तथा विदेशी युवाहरुको सीप र बौद्धिकतालाई नेपालको समृद्धिको लागि प्रयोग गर्नुपर्छ । युवा पुस्ताले जीवन निर्वाहको लागि जागिर खानुपर्ने हैन, जागिर दिन्छु भन्ने अवस्था बनाउनुपर्नेछ । आफ्नो देशमा नै लागानीको वातावरण बनाई स्वदेशी उत्पादनको व्यापक वृद्धि गरी आयात घटाई निर्यातलाई बढाउनु पर्नेछ । स्वदेशी वस्तुको उत्खनन्, उत्पादन र बजारको विस्तार गर्न सके नेपालमा आयात हैन, निर्यात गर्ने मुलुकको रुपमा स्थापित गराउन सकिन्छ । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास गर्नु पर्नेछ । यो नै आगामी दिनमा राष्ट्रिय युवा संघ नेपालको नीति तथा कुटनीति हुनेछ । दक्ष युवालाई विकसित मुलुकमा सिमित समयको लागि रोजगारीको लागि पठाउनु स्वभाविक नै हो । किन कि नयाँ प्रविधिको विकास र सीप हासिल गर्न त्यो वर्तमान अवस्थामा नेपालको लागि महत्वपूर्ण हुन्छ । त्यो सीप, क्षमता र दक्षतालाई मुलुक निर्माणको लागि प्रयोग गर्न सक्नुपर्छ । अहिले सृजनशिल युवा नेपाल हैन, विदेश बनाउन बाध्य छन् । जसबाट नेपालको खरवौं रकम समेत बाहिर जाने गरेको छ । अदक्ष युवालाई खाडी मुलुक पठाएर सिमित रेमिट्यान्स हैन, दक्ष युवा विदेश पठाए रेमिट्यान्सलाई बढाउन नीति लिनुपर्छ । यो राष्ट्रिय युवा संघको नेतृत्वको कार्यभार बन्नु पर्नेछ ।

आधुनिक प्रविधिको उच्चतम् प्रयोग सहित १६ वर्षदेखी २५ वर्ष उमेर समुहका युवाहरुमा रहेको राजनीतिक वितृष्णा हटाउनुपर्नेछ । जुन उमेर समुहका युवा तथा विद्यार्थीहरुलाई संघमा आवद्ध गराई राजनैतिक विकल्पको खोजीलाई अन्त्य गराई राजनीतिक स्थिरता कायम गर्नु ठूलो चुनौती बनेको छ । छरपस्ट रुपमा वैकल्पीक राजनीति हैन, दुई दलीय व्यवस्था परिवर्तन सहित समृद्ध नेपाल : सुखी नेपालीको अभियानमा लाग्न युवाहरुलाई प्रेरित गर्नुपर्छ । वर्तमान अवस्थामा नेपालमा संघीयतालाई पुनःसंरचना गर्नु अपरिहार्य जस्तै बनेको छ । समानुपातिक र समावेशीतालाई नविनतम् ढंगले अगाडी बढाउन बैज्ञानिक विधिलाई अपनाउनुपर्छ । त्यस्तै शासकीय स्वरुपलाई पनि जनताको माग र आवश्यकता अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति हुनुपर्ने देखिएको छ । जसमा युवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसको नेतृत्व संघले गर्नुपर्छ, जसले गर्दा आगामी निर्वाचनमा एकल बहुमत आउन सहज बन्नेछ ।

राष्ट्रिय युवा संघ नेपाल ‘सडक बाघ’मात्र हैन, विकास निर्माण र समृद्धिको महत्वपूर्ण सम्बाहकको रुपमा स्थापित हुनुपर्ने छ । यत्रतत्र रहेका युवालाई गोलबन्द गर्दै देशभित्र मात्र नभई विदेशका धेरै देशहरुमा संघले आफ्नो संगठन विस्तारलाई बढाउनु पर्नेछ । जसले गर्दा जनताको दुःख सुखमा संघको प्रत्यक्ष सहभागिता हुनेछ । राजनीति व्यवसाय हैन, सेवा हो भन्ने कुराको विश्वास दिलाई त्यसमा आम जनता गोवद्ध हुन अभिप्रेरित गर्नु पर्नेछ । संघका युवाहरु उत्पादन र रोजगारमा आवद्ध भई राज्यलाई अनिवार्य कर तिर्ने विधानलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्नेछ । राजनीतिलाई फोहोरी खेल हो भन्ने जनतामा रहेको भ्रमलाई अन्त्य गराउँदै युवाको सुन्दर भविष्य निर्माणकर्ता हो भन्ने अभिभावकको भावना विकास गर्नुछ, आफ्नो छोराछोरीलाई राष्ट्रिय युवा संघमा नै आवद्ध हुन सुझाव दिने वातावरण बनाउनु पर्नेछ । ‘जहाँ युवा, त्यही राष्ट्रिय युवा संघ नेपाल’को अभियान चलाउँदै कसैलाई काखा र कसैलाई पाखा नगरी संगठनमा दिएको योगदान, क्षमता र योग्यताको कदर गर्दै नेताको पछि हैन, पार्टीको नीति तथा सिद्धान्तको पछि लाग्ने कार्यकर्तालाई स्थान दिने कार्य नेतृत्वले अवश्य नै गर्नेछ भन्ने आम युवाहरुको बुझाई रहेको छ । त्यस्तै युवालाई राजनीतिमा आकर्षण बढाउन युवा दशक अभियान, ‘शिक्षा, स्वास्थ्य, रोजगार समाजवादको आधार’ तयार गर्नुपर्ने देखिन्छ ।

युवाको मनोविज्ञान र प्रविधिलाई बुझ्ने तथा लोकतान्त्रीक पद्धतिलाई आत्मसात् गर्दै संघको महाधिवेशनले नयाँ जोस्, जाँगर, उत्साह, मिसन, भिजन, दृष्टिकोण, नेकपा (एमाले) पार्टीको सिद्धान्तप्रति बफादार र ‘जहाँ छोयो, त्यहाँ सफलता’ चुम्न सफल गराउने नेतृत्व आएको छ । युवाको भूमिका राज्यका विभिन्न निकायहरुमा सम्मानजनक उपस्थिती गराउन संघको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नेमा आम युवाहरुले भरोसा गरेका छन् । युवाका आवाजहरु राज्यका तीन वटै तहका सरकार तथा कानुनका कागजमा हैन, व्यवहारमा रुपान्तरण गराउने नेतृत्व अबको राष्ट्रिय युवा संघ नेपालको हुनेछ । संघलाई ‘रहर लाग्दो, भर लाग्दो तथा बैरीको लागि डर लाग्दो’ नीतिलाई अझ बढी व्यवस्थित र प्रभाकारी बनाउँदै लैजानु अपरिहार्य बन्दै गएको छ । प्रविधिको दुरुपयोग गरी एमाले र एमालेका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा गरिएको आक्रमणलाई कानुनत उपचार गराउन संघको साइवर सर्कलले नेतृत्व गर्नेछ । जसबाट प्रविधिको दुरुपयोग गरी अराजकता मच्चाउनेलाई थच्चाउने कार्य गर्नेछ ।

राष्ट्रिय युवा संघ नेपालले सरकारसँगको सम्बन्धप्रतिको दृष्टिकोण

सामान्यतया, राष्ट्रिय युवा संघले सरकारसँगको दृष्टिकोणमा तीन प्रकारका नीतिहरु लिन्छ । जुन सहकार्य, संघर्ष र विकल्प हुन । युवामैत्री नीति तथा कानुन वा विकास निर्माणका कुराहरु आए सहकार्य गर्छ । युवा, सामाजिक न्याय, अधिकार स्थापना, भ्रष्टाचार, अनियमितता, महंगीलगायतका कार्यहरुमा संर्घष गर्छ । उत्पादन, रोजगारीको सिर्जनालगायतका कुराहरु विकल्पसहितको कार्यहरु गर्छ र गरिरहेको छ ।

‘राजनीतिमा प्रतिष्पर्धा, विकासमा ऐक्यबद्धता’ भन्ने संघको नीति रहनुपर्नेछ । मुलुकको विकास र समृद्धिको यात्रामा देश, जनता र युवाको पक्षमा रहे संघले सरकारलाई भरपुर सहयोग गर्छ नै । तर विकासको नाममा हुने विकृति, विसंगती, भ्रष्टाचार, अनियमितता, मंहगीको सडक बाघको रुपमा प्रतिवाद गर्छ । संघले सरकारको जनघाती कदमको विरुद्धमा सडक, सदन र सरकारसम्म आवाज बुलन्द गर्छ । समाज रुपान्तरण र चेतानाको विकास गराउनु संघको मुख्य जिम्मेवारी हो । समाजमा हुने विभिन्न प्रकारका हिंसाको विरुद्ध, अधिकार प्राप्तीको आन्दोलनको रक्षा, मानवअधिकारको रक्षा, संवैधानिक रुपमा स्थापित मौलिक हकको ग्यारेन्टी, युवा आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र त्यसको कार्यान्वयनको लागि तीन वटै तहको सरकारसँग खवरदारी गरिरहनुपर्नेछ ।

सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव