मोफसलमा बढ्दै चलचित्र गतिविधि

काठमाडौँ, २३ चैत । चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनको लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् । 

प्रिमियर, घोषणालगायतका कार्यक्रम काठमाडौं केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’ को प्रिमियर कास्कीको पोखरा हुने भएको छ । मोफसलका विभिन्न सहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारकै लागि गर्ने यस्ता गतिविधि निकै कम छन् ।

निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल र लेखक तथा निर्देशक प्रमोद कँडेलको सहभागितामा प्रिमियर हुने जानकारी दिए । “मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोचले आयोजना गरेका हौँ । उपत्यका बाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रम निरन्तर हुन् जरुरी छ”, निर्माता पौडेलले भने । चलचित्रको प्रिमियर काठमाडौँमा बुधबार साँझ सम्पन्न भइसकेको छ । 

पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीमार्फत सकारात्मक प्रतिक्रिया पाइएको निर्देशक कँडेलले बताए । “हामीले निरन्तररूपमा बनिरहेका चलचित्रमा यसलाई फरकरूपमा तयार गरेको प्रयासले सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु । यसमा हामीले अहिलेको पुस्ताको मनोविज्ञान, समाज र परिवारबाट राख्ने अपेक्षालाई प्रस्तुत गरेका छौँ”, निर्देशक कँडेलले भने । निर्माता पौडेलकै अग्रसरतामा केही वर्ष अगाडी ‘लुकामारी’ को प्रिमियर पोखरामा भएको थियो । 

गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’को काठमाडौँसँगै चितवन र इटहरीमा प्रिमियर गरिएको थियो। निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलमा बढ्दो बजारलाई टेवा पु¥याउने उद्देश्यले प्रिमियर गरिएको बताए । “हामीले मोफसलमा व्यापार भएन भन्छौँ । अझैँ कोशी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन । त्यहाँ बजार विस्तार गर्न पनि प्रिमियर गरेका थियौँ”, निर्माता बानियाँले भने, “प्रिमियर, पत्रकार सम्मेलनलगायतका गतिविधिले स्थानीयरूपमा प्रचारप्रसार हुन्छ । चलचित्रले मोफसलबाटै झन्डै लगानी उठाएको थियो ।” उनी आफ्नो आगामी चलचित्र ‘महाजात्रा’ लाई काठमाडौँ मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस