काठमाडौँ, ८ चैत । प्रधानमन्त्री त्रिदेशीय कपको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएको छ ।
आजदेखि सुरु हुने प्रतियोगिता चैत १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको समापन समारोह प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।
बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राई प्रधानमन्त्री निवास बालुवाटार पुगेर समापन समारोहमा सहभागिताका लागि निमन्त्रणा दिएको र प्रधानमन्त्री प्रचण्डले निमन्त्रणा स्वीकार गरेको एन्फाले जनाएको छ ।
आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र लाओस भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन समारोहमा भने सदस्यसचिव घिसिङको उपस्थित हुनेछन् ।