काठमाडौँ, १२ फागुन । एकदिवसीय क्रिकेटको विश्व वरीयतामा नेपालका बलर सन्दीप लामिछाने ३१ औं स्थानमा उक्लेका छन् ।
नेपालमा हालै सम्पन्न भएको त्रिकोणात्मक सिरिजपछि उनी ३१ औं स्थानमा उक्लेका हुन् । विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबिया संलग्न श्रृंखलामा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए । यही प्रदर्शनको बलमा उनलाई विश्व वरीयतामा अहिलेसम्मकै सबैभन्दा माथिल्लो स्थान प्राप्त भएको छ ।
त्रिकोणात्मक श्रृंखला सुरू हुनुअघि सन्दीप एकदिवसीय वरीयताको ७२ स्थानमा थिए । त्यसबेला उनको रेटिङ प्वाइन्ट ४०० थियो । प्रतियोगितापछि उनले रेटिङ प्वाइन्ट ५३६ पुर्याउँदै ४२ स्थान माथि उक्लिएका हुन् । उनको करिअर बेस्ट रेटिङ प्वाइन्ट भने ५४० रहेको छ, जुन उनले अघिल्लो वर्षको जुलाईमा प्राप्त गरेका थिए ।
एकदिवसीय वरीयतामा फड्को लगाउने क्रममा सन्दीपले टेस्ट राष्ट्रका कैयन विश्वचर्चित बलरहरुलाई पछि पारेका छन् । भारतका मोहम्मद सामी, पाकिस्तानका सदाब खान, न्यूजिल्यान्डका टिम साउथी, ईंग्ल्यान्डका डेविड विली, अष्ट्रेलियाका एस्टोन अगरजस्ता खेलाडीहरु वरीयतामा सन्दीपभन्दा पछाडि छन् ।







