अब उडानमै इन्टरनेट चलाउन पाइने

काठमाडौँ, २६ माघ । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो । यससँगै उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् । 

निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाई सेवाप्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । 

अनुमति प्राप्त सेवा प्रदायकले त्यस्तो सुविधा नेपाली आकाशमा उडान भरिरहेको अवस्थामा मात्र उपलब्ध गराउन सक्ने निर्देशिकाले प्रस्ट पारेको छ । अन्य देशको हकमा भने सम्बन्धित देशको नियमानुसार नै गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकाअनुसार १० हजार फिटमाथि उडान गरिरहेको र अवरोध नहुने अवस्थामा मात्र त्यस्तो सञ्चार सेवा उपलब्ध गराउन पाइनेछ । त्यसभन्दा कम उचाइको उडानमा भने यात्रुका लागि यस्तो सेवा प्रतिबन्ध गरिएको छ । 

निर्देशिकाअनुसार कानुनी रूपमा दर्ता भएका स्वदेशी अथवा विदेशी दुवै किसिमका सेवाप्रदायकले यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । निर्देशिकाले यस किसिमको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रियाको पनि स्पष्ट व्यवस्था गरेको छ । आफ्नो उडानमा सञ्चार सेवा उपलब्ध गराउन चाहने हवाई सेवाप्रदायकले सेवाको किसिम, प्रयोग हुने फ्रिक्वेन्सी, स्याटेलाइट र अर्थ स्याटेलाइटको विवरण, प्रयोग हुने प्रविधि, सञ्चार सेवा उपलब्ध गराउने सेवाप्रदायकको विवरण पेस गर्नुपर्नेछ । 

त्यस्तै सेवाप्रदायकको हकमा भने सञ्चार सुविधा उपलब्ध गराउन स्याटेलाइट सेवा प्रदायकसँग सम्झौता गरेको हुनुपर्नेछ । सेवाप्रदायकले हवाईजहाजभित्र कुनै किसिमको उपकरण जडान गर्नुपर्ने अवस्थामा भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हुनुपर्नेछ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ