काठमाडौँ, २ पौष । सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । योजना र कार्यक्रम राम्रा भएपनि बजेट अभावमा कार्यान्वयन हुन नसक्ने उनीहरुको आशंका छ ।
शुक्रवार शिक्षा पत्रकार समूहले आयोजना गरेको दिगो विकास लक्ष्यः कार्यान्वयनको स्थिति, चुनौति र अवसर’ विषयक अन्तक्र्रियामा बोल्ने अधिकांशले तीनवटै सरकारले लगानीको प्रतिवद्धता जनाए दिगो विकासका लक्ष्य हासिल हुने ठोकुवा गरे । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथाप्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले तत्कालका लागि बजेट अभाव देखिए पनि निर्धारित समयमा लक्षित उपलब्धी हासिल हुने जिकिर गरे । विद्यमान योजनाहरुको प्रभावकारी कार्यान्वयन भए शिक्षा क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न कुनै कठिनाइ नभएको उनको दाबी थियो ।
तत्कालका लागि बजेटको कमी रहेको स्वीकार गर्दै उपसचिव अर्यालले शिक्षामा लगानी गरिएको बजेटको ठूलो हिस्सा शिक्षक, कर्मचारीहरुको तलबमा खर्च हुने भएकाले विद्यालयहरुमा थप कार्यक्रम संचालन गर्न भने गाह्रो रहेको बताए । ‘विद्यालयतहमा अझै ५३ हजार शिक्षकको दरबन्दी कमी रहेको तथा १८ सय माध्यमिक विद्यालय अझै दरबन्दी विहीन रहेको भएपनि तीनवटै तहका सरकारले साझेदारीमा लगानी गरेर जाने हो भने लक्ष्य हासिल गर्न सकिन्छ ।’ उपसचिव अर्यालले भने ।
उता, स्थानीय तहका जनप्रतिनिधिहरुले भने संघीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरे शिक्षामा दिगो विकास लक्ष्य हासिल हुन कठिन रहेको दाबी गरे । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका कोषाध्यक्ष उमेश भट्टले संघले स्थानीयतहमा योजना र जिम्मेवारी मात्रै दिएको तर कार्यान्वयनका लागि बजेट नदिएको गुनासो गरे । स्थानीय तहमा विद्यालय शिक्षामा स–साना समस्या रहेको तर संघीय सरकारका योजनाले त्यसलाई नसमेटेको उनको भनाइ थियो । ‘विद्यालयमा भवन, शिक्षक, सिकाइ सामग्री धेरै चिजको अभाव छ, गुणस्तर सुधार्ने भनेर मात्रै कसरी सुध्रन्छ’, भट्टले प्रश्न गरे, ‘कसरी हासिल हुन्छ दिगो विकासका लक्ष्य?’
यस्तै, पञ्चदेवल विनायक नगरपालिका अछामकी मेयर अम्बिका चलाउनेले बजेटको अभावमा स्थानीयतहले शिक्षालाई गुणस्तरीय बनाउने गरी त्यसको पूर्वाधार विकासमा काम गर्न सक्ने अवस्था नरहेको बताइन् । गुणस्तरीय जनशक्ति उत्पादनका लागि पहिले विद्यालयको आधारभूत तहमा लगानी बढाउनुपर्नेमा उनको जोड थियो । ‘कम्तिमा देशभरका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गरेपछि मात्रै गुणस्तरका लागि काम गर्न सकिन्छ ।’ मेयर चलाउनेले भनिन् ।
पद्य कन्या मावि डिल्ली बजारकी प्रअ रिता तिवारी हुमागाईंले कार्यान्वयनको प्रमुख पक्ष विद्यालय र शिक्षकलाई वेवास्ता गर्दै बनेका शिक्षाका योजनाले लक्षित उपलब्धी हासिल नहुने ठोकुवा गरिन् । यस्तै, पद्योदय मावि प्रदर्शनी मार्गका प्रअ नारायण गौतमले शिक्षकका समस्या समाधानबिना शिक्षाका समस्या समाधान नहुने बताए । कार्यक्रममा शिक्षाविद् वाइपी आचार्यले शिक्षकको क्षमता विकासमा ध्यान दिनआग्रह गर्दै शिक्षामा राजनीतिक प्रतिवद्धता नबढ्दा लक्षित उपलब्धी हासिल हुन नसकेको बताए । सबैलाई जीवन पर्यन्त शिक्षासँग जोड्नु पर्ने भन्दै आचार्यले स्थानीय समस्या र खुबीका आधारमा शिक्षाका व्यवहारिक योजना बन्नु पर्नेमा जोड दिए ।
युनेस्को काठमाडौँका शिक्षा प्रमुख ध्रुव रेग्मीले सबै पक्षको प्रतिवद्धता र सहकार्यले दिगो विकासका लक्ष्य हासिल हुने बताए । यसका लागि सबै पक्षले हातेमालो गर्न आवश्यक रहेकोमा उनको जोड थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले सरकार शिक्षामा दिगो विकासका लक्ष्य हासिल गर्ने गरी अगाडि बढीरहेको स्पष्ट पारे । यसका लागि सबै पक्षको सहयोग र प्रतिवद्धता आवशयक रहेकोमा उनको जोड थियो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव घनश्याम अर्याल, युनेस्को काठमाडौँका शिक्षा प्रमुख ध्रुव रेग्मी, शिक्षा पत्रकार सुदर्शन सिग्देलले कार्यपत्र प्रस्तुत गरेका थिए । ती कार्यपत्रमा शिक्षा अभियन्ताहरु वाइपी आचार्य, प्रकाश घिमिरे र राजकुमार बरालले टिप्पणी गरेका थिए ।






